इन्धन मात्र होइन, अब भान्साकै पालो : इरान युद्धले यसरी निम्त्याउँदैछ विश्वव्यापी ‘खाद्य संकट’

इन्धन मात्र होइन, अब भान्साकै पालो : इरान युद्धले यसरी निम्त्याउँदैछ विश्वव्यापी ‘खाद्य संकट’

एजेन्सी : इरान र इजरायलबीच बढ्दो तनाव र युद्धका कारण विश्व बजारमा तेलको मूल्य मात्र बढेको छैन, बरु विश्वव्यापी ‘खाद्य सुरक्षा’मा नै गम्भीर खतरा उत्पन्न भएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले विश्वको २० प्रतिशत तेल र ग्यास ओसारपसार हुने ‘हर्मोज जलसन्धि’ बन्द भएको घोषणा गरेपछि रासायनिक मलको आपूर्ति ठप्प भएको छ।

विश्वमा व्यापार हुने झण्डै आधा (४६ प्रतिशत) युरिया मल खाडी मुलुकहरूबाट यही स्ट्रेट अफ हर्मोज भएर निर्यात हुने गर्छ।

युद्धका कारण कतारको ‘कतार इनर्जी’ले विश्वकै ठूलो युरिया प्लान्ट बन्द गरेको छ। यसको प्रत्यक्ष असर छिमेकी देशहरूमा पर्न थालिसकेको छ।

यसबाट भारतमा तीनवटा ठूला युरिया प्लान्टको उत्पादन कटौती भएको छ भने  बङ्गलादेशमा ५ मध्ये ४ वटा मल कारखाना बन्द भएका छन्। यसका अलावा अमेरिकामा समेत मलको मौज्दातमा २५ प्रतिशतले कमी आएको छ।

मध्यपूर्वबाट निर्यात हुने युरियाको मूल्यमा झण्डै ४० प्रतिशतले वृद्धि भई प्रति मेट्रिक टन ७०० डलर पुगेको छ। यो गत वर्षको तुलनामा ६० प्रतिशत महँगो भएको अलजजिराले लेखेको छ।

अहिले विश्वको उत्तरी क्षेत्रका देशहरूमा बाली लगाउने मुख्य समय हो। फेब्रुअरीको मध्यदेखि मे महिनाको सुरुसम्म किसानहरूलाई अत्यधिक मलको आवश्यकता पर्छ। यही समयमा आपूर्ति बन्द हुँदा धान, गहुँ र मकै जस्ता मुख्य खाद्यान्नको उत्पादनमा भारी गिरावट आउने निश्चित छ।

खाडी मुलुकबाट निर्यात हुने मलमा एसियाली देशहरू सबैभन्दा बढी निर्भर छन्। भारत आफ्नो आवश्यकताको ४० प्रतिशतभन्दा बढी युरिया र फस्फेटका लागि यही क्षेत्रमा निर्भर छ भने ब्राजिल आफ्नो कुल आयातको आधा मल स्ट्रेट अफ हर्मोज भएर भएर ल्याउने गर्छ।

यसका अलावा चीन विश्वको प्रमुख खाद्य उत्पादक भए पनि मलको अभावले उसको उत्पादन क्षमतामा ह्रास आउने देखिन्छ।

चामल र गहुँका लागि भारत, भटमासका लागि ब्राजिल र अन्य खाद्यान्न र चियाका लागि चीन विश्वकै प्रमुख खाद्य उत्पादक र निर्यातकर्ता मुलुक हुन्।

यदि मलको अभावले यी देशमा उत्पादन घट्यो भने विश्वभरि नै खाद्यान्नको मूल्य बढ्ने र कतिपय आयातमा निर्भर देशहरूमा अनिकालको स्थिति सृजना हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

रुस-युक्रेन युद्धका कारण पहिले नै थलिएको विश्व मल बजार इरान युद्धका कारण थप संकटमा फसेको छ। यदि स्ट्रेट अफ हर्मोज लामो समयसम्म बन्द रहेमा विश्वले ठूलो आर्थिक मन्दी र भोकमरीको सामना गर्नुपर्ने विज्ञहरू बताउँछन्।

चैत ५, २०८२ बिहीबार ०९:४६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।