खाडी देशका तेल केन्द्रहरूमा इरानी आक्रमण : कतारले फिर्ता पठायो अधिकारी, साउदीद्वारा सैन्य कारबाहीको चेतावनी
एजेन्सी : मध्यपूर्वमा स्थिति निकै तनावपूर्ण बनेको छ। इरानले आफ्ना छिमेकी देशहरूका महत्त्वपूर्ण ऊर्जा केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि क्षेत्रमा युद्धको खतरा झन् बढेको छ।
इरानले कतारको मुख्य ग्यास केन्द्र रास लाफानमा क्षेप्यास्त्र प्रहार गरेको छ, जसका कारण त्यहाँ ठूलो क्षति भएको छ। यस घटनापछि कतारले आफ्नो देशमा रहेका इरानी सुरक्षा र सैन्य अधिकारीहरूलाई देश छोड्न आदेश दिएको छ।
त्यस्तै, संयुक्त अरब इमिरेट्सको अबु धाबीस्थित हबसान ग्यास केन्द्रमा पनि आक्रमण भएको छ।
साउदी अरबका दुईवटा तेल प्रशोधन केन्द्रमा पनि इरानले आक्रमण गरेको छ। साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानले इरानको यस्तो कदमको कडा आलोचना गर्दै अब सैन्य कारबाहीको विकल्प पनि खुला रहेको बताएका छन्।
उनले इरानसँगको बाँकी रहेको थोरै विश्वास पनि अब पूर्ण रूपमा समाप्त भएको बताए।
इरानले इजरायलतर्फ पनि नयाँ लहरका क्षेप्यास्त्रहरू प्रहार गरेको छ। इजरायलका विभिन्न ठाउँमा विष्फोटका आवाजहरू सुनिएका छन्।
वेस्ट बैंकको ‘बेत अव्वा’ भन्ने ठाउँमा एउटा महिला सैलुनमा मिसाइल खस्दा ३ प्यालेस्टिनी महिलाको मृत्यु भएको छ र १३ जना घाइते भएका छन्। इजरायलमा पनि केही व्यक्तिको मृत्यु भएको खबर छ।
यस युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ। अमेरिकी सेयर बजार ओरालो लागेको छ। अमेरिकामा महँगी ३.४ प्रतिशतले बढेको छ, जसले विश्व अर्थतन्त्रमा थप संकट ल्याउन सक्ने देखिएको छ।
वासिङ्टन पोस्टका अनुसार, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानसँगको युद्धका लागि अमेरिकी संसदसँग थप २०० अर्ब डलरभन्दा बढीको बजेट माग गरेको छ।
अहिले खाडी क्षेत्रका देशहरूले इरानको यस कदमलाई ‘आतंकवादी कार्य’ र ‘अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’ भनेका छन्। ओमान र अन्य देशहरूले मध्यस्थताको प्रयास गरे पनि इरानले लगातार आक्रमण गरिरहेको विश्लेषण गरिएको छ।
समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा पनि जहाजहरूमाथि आक्रमण सुरु भएको छ, जसले गर्दा अन्तर्राष्ट्रिय व्यापारमा समस्या आउन सक्ने चेतावनी दिइएको छ।
चैत ५, २०८२ बिहीबार ०७:४७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।