इजरायली आक्रमणमा इरानका गुप्तचर मन्त्री खतिब मारिएको दाबी; बेरुतमा भीषण बमबारी

इजरायली आक्रमणमा इरानका गुप्तचर मन्त्री खतिब मारिएको दाबी; बेरुतमा भीषण बमबारी

एजेन्सी : इजरायलले गए राति गरेको एक हवाई आक्रमणमा इरानका गुप्तचर मन्त्री इस्माइल खतिब मारिएको दाबी गरेको छ। इरानका उच्च सुरक्षा अधिकारी अलि लारीजानी मारिएको भोलिपल्टै अर्का उच्च पदस्थ अधिकारीको मृत्यु भएको खबर सार्वजनिक भएको हो।

इरानले खतिबको मृत्युबारे हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन। यसअघि हिजो मात्र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि लारीजानी इजरायली आक्रमणमा मारिएको पुष्टि भएको थियो।

को हुन् इस्माइल खतिब?

खतिब सन् २०२१ मा तत्कालीन राष्ट्रपति इब्राहिम रायसीले गुप्तचर मन्त्री नियुक्त गरेका थिए। उनले इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनी लगायतका उच्च धर्मगुरुहरूबाट इस्लामिक न्यायशास्त्रको शिक्षा लिएका थिए।

उनले गुप्तचर मन्त्रालय र सर्वोच्च नेताको कार्यालयमा दशकौँसम्म वरिष्ठ पदहरूमा काम गरेका थिए।

सन् २०२२ मा अमेरिका विरुद्ध साइबर आक्रमण र जासुसी गतिविधिमा संलग्न भएको आरोपमा अमेरिकी अर्थ मन्त्रालयले उनीमाथि प्रतिबन्ध लगाएको थियो।

उनी सन् १९७९ को इस्लामिक क्रान्ति लगत्तै १९८० मा इरानको शक्तिशाली 'रिभोलुसनरी गार्ड्स' मा आबद्ध भएका थिए।

बेरुतको मुटुमा इजरायली प्रहार

यसैबीच, इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमणलाई थप तीव्र बनाएको छ। इरानी समर्थित हिजबुल्लाह विरुद्धको अभियानका क्रममा गए राति बेरुतको मध्य भागमा रहेका भवनहरूमा बमबारी गरिएको छ।

सामान्यतया हिजबुल्लाहको प्रभाव क्षेत्र मानिने दक्षिणी बेरुतभन्दा बाहिर, व्यापारिक प्रतिष्ठान र होटेलहरूले घेरिएको क्षेत्रमा एउटा ठूलो भवन ध्वस्त पारिएको छ। 

चैत ४, २०८२ बुधबार २०:०६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।