काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं : काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही चैत १६ देखि निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि वीर अस्पतालसँग सम्झौता गरेको छ। 

कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको रोहबरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्रा डा. दिलीप शर्माबीच सम्झौता भएको हो।  

त्यस अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले, कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेसा व्यवसायमा काम गर्ने महिलालाई परीक्षण गराउन सहज पर्ने समय तालिका मिलाउन र धेरै समय कुर्न नपर्ने व्यवस्थापन गर्न डङ्गोलले निर्देशन दिइन्। 

यसका साथै सेवा सरल, सहज र पहुँच योग्य बनाउन र  अपाङ्गता भएका महिलाका लागि विशेष व्यवस्था गर्न डङ्गोलले  निर्देशन दिइन्।

उनले भनिन्, “क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउन एउटा विधि हो। यसका विषयमा भएका भ्रम र असजिला पक्षका विषयमा पर्याप्त जानकारी प्रवाह गर्नुहोला।”

त्यस क्रममा अस्पतालका निर्देशक प्रा डा. शर्माले गएको वर्षको सिकाइबाट यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना गरिएको बताए। 

“उच्चस्तरीय सेवा प्रदान गर्न हामी प्रयास गर्नेछौँ”, प्रा डा. शर्माले भने, “मलाई लक्षण देखिएकै छैन, किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था बिग्रिने गरेको छ। बिग्रिएको यो अवस्था सुधार गर्न लक्षण नभए पनि परीक्षण गराउनुपर्छ।” 

स्वास्थ्य विभागका प्रमुख केसीका अनुसार ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिला परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह छन्।

परीक्षण चैत १६ गतेदेखि सुरु हुनेछ। हरेक दिन १०० जनादेखि १२० जनासम्मको परीक्षण हुने जनाइएको छ। 

कार्यक्रमका स्थानीय स्रोत व्यक्ति चन्द्रा भट्टका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा विवरण टिपाएपछि केन्द्रबाट प्राप्त भएको रेफरल स्लिपमा उल्लेख भएको मिति र समयमा अस्पताल जानुपर्नेछ। 

चैत ४, २०८२ बुधबार १८:४२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।