टुँडिखेलमा घोडाको कौशल (तस्बिरहरू)

टुँडिखेलमा घोडाको कौशल (तस्बिरहरू)

काठमाडौं : काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक पर्व घोडेजात्रा बुधबार सैनिक मञ्च टुँडिखेलमा भव्य रूपमा मनाइएको छ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने यस पर्वका अवसरमा नेपाली सेनाले विशेष समारोह आयोजना गरी घोडचढीसहितका विभिन्न साहसिक र रोचक कला प्रदर्शन गरेको छ।

समारोहमा नेपाली सेनाका घोडचढीहरूले आफ्नो अद्भुत सीप र कौशल प्रदर्शन गरे।

सैनिकहरूले घोडा दौड, घोडा जम्प, चार्जर घोडा दौड र फायर जम्प जस्ता रोमाञ्चक खेलहरू देखाउँदा टुँडिखेलमा उपस्थित दर्शकहरू मन्त्रमुग्ध भएका थिए।

घोडचढीमार्फत गरिने युद्धकला र हमलाका दृश्यहरूले समारोहमा थप रौनक थपेको थियो।

समारोहमा घोडचढीका साथै नेपाली सेनाले अन्य शारीरिक व्यायाम र युद्धकलाको समेत प्रदर्शन गरेको थियो।

विशेष गरी मोटरसाइकल खेलका साहसिक स्टन्टहरू र तालिमप्राप्त कुकुरहरूले देखाएका विभिन्न रोचक कलाहरू दर्शकका लागि मुख्य आकर्षण बनेका थिए।

कार्यक्रममा घोडाको ऐतिहासिक प्रयोगका झलकहरू समेत देखाइएको थियो। ढुवानीको साधन, कृषिको सहयोगी, सिकार र लडाइँको मैदानमा घोडाको भूमिकालाई विभिन्न कलामार्फत प्रस्तुत गरियो।

प्राचीन कालदेखि नै यात्रा र उत्सवहरूमा घोडाको महत्वलाई दर्शाउने ती दृश्यहरूले नेपाली समाजको पुरानो जीवनशैलीको स्मरण गराएका थिए।

गुरुमापा नामक राक्षसको शक्तिको दमन गर्ने र सहरका बालबालिकाको सुरक्षा गर्ने जनविश्वाससँग जोडिएको यो जात्रा काठमाडौंको एक महत्वपूर्ण सांस्कृतिक पहिचानका रूपमा रहँदै आएको छ।

घोडेजात्रा अवलोकनका लागि सैनिक मञ्चमा राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्च सरकारी अधिकारी एवं कूटनीतिक नियोगका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

चैत ४, २०८२ बुधबार १९:१३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।