ऊर्जा संकट चुलिएकै बेला ट्रम्पको चेतावनी- 'म क्युबासँग जे पनि गर्न सक्छु!'

ऊर्जा संकट चुलिएकै बेला ट्रम्पको चेतावनी- 'म क्युबासँग जे पनि गर्न सक्छु!'

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई आफ्नो नियन्त्रणमा लिन सक्ने अभिव्यक्ति दिएका छन्। उनले क्युबा अहिले निकै कमजोर अवस्थामा रहेको उल्लेख गर्दै आफूले चाहेको निर्णय लिन सक्ने बताएका हुन्।

सोमबार ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, "मलाई लाग्छ, म क्युबा लिन सक्ने अवसर पाउनेछु ... चाहे म यसलाई स्वतन्त्र पार्छु वा मेरो नियन्त्रणमा लिन्छु। म यसको साथ जे पनि गर्न सक्छु।"

ट्रम्पको यस्तो अभिव्यक्ति क्युबामा राष्ट्रिय विद्युत् प्रणाली पूर्ण रूपमा बन्द भएको अवस्थाबीच आएको हो।

पछिल्ला चार महिनामा क्युबामा आएको यो तेस्रो ठूलो विद्युत् अवरोध हो। पुरानो भइसकेको पूर्वाधारका कारण दैनिक विद्युत् कटौती र देशव्यापी अन्धकार हुने समस्या दोहोरिँदै आएको छ।

विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा क्युबालाई तेल बिक्री गर्ने वा उपलब्ध गराउने जुनसुकै देशमाथि भारी कर लगाउने चेतावनी दिएपछि सन् २०२६ को सुरुदेखि नै पर्याप्त इन्धन आयात गर्न सकेको छैन। इन्धन आपूर्ति अवरुद्ध हुँदा विद्युत् उत्पादनमा ठूलो गिरावट आएको छ, जसले देशको ऊर्जा प्रणालीलाई संकटमा पारेको छ।

वर्षौदेखि प्रतिबन्ध, कूटनीतिक तनाव, आप्रवासन र सुरक्षा सम्बन्धी विवादका कारण अमेरिका र क्युबाबिचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ।

यसै वर्ष ट्रम्पले भेनेजुएला र इरानमा सैन्य हमला गरिसकेका छन्।

चैत ४, २०८२ बुधबार १६:११:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।