पोखराको सुन गुफा: नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गरिदैँ
पोखरा : पर्यटकीय राजधानी पोखरामा महेन्द्र, चमेरे र गुप्तेश्वर जस्ता चर्चित गुफासँगै अब तिक्लाङस्थित सुन गुफा पनि नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुने तयारीमा छ।
विभिन्न रहस्यात्मक गुफाका कारण पोखरा आउने पर्यटकको बसाइँसमेत लम्ब्याइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङस्थित सुन गुफालाई अर्को नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यतिखेर यहाँका स्थानीयवासी सक्रिय बनेका छन्।
करिब डेढ किलोमिटर लामो गुफामा प्राकृतिक आकृति, चमेरा अवलोकन र धार्मिक महत्व रहेको बताइएको छ।
स्थानीयवासीका अनुसार गुफा तिक्लाङ खेलमैदानको बीचबाट सेती नदीको तिरसम्म फैलिएको छ। हालसम्म गुफाको संरक्षण र पूर्वाधार विकासका लागि संघीय र स्थानीय बजेटबाट करिब ५० लाख रुपैयाँ खर्च भइसकेको छ। गुफासहितको करिब ३० रोपनी क्षेत्रफलमा प्रवेशद्वार, सिँढी, बिजुली व्यवस्था र शौचालयलगायत पूर्वाधार निर्माण सम्पन्न गर्दै पर्यटकका लागि औपचारिक रूपमा खुला गर्ने सोच बनाइएको जानकारी दिए। गुफासहित यो परिसर प्राचीनकालदेखि धार्मिक रूपमा महत्वपूर्णस्थल रहेको उनको भनाइ छ।
स्थानीयहरू यस गुफाका सम्बन्धमा धेरै पहिलादेखि जानकार भए पनि यसको पर्यटकीय उपयोगप्रतिको चासो भने विस्तारै विकसित भएको चुने पहरा सुन गुफा संरक्षण समितिका अध्यक्ष सङ्गीत बानियाँले बताए। गुफाको संरक्षण र विकाससँगै यसको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले चासो दिएको उनले जानकारी दिए।
स्व. अधिकारीका साथै विद्या भट्टराई, तत्कालीन वडाध्यक्ष शिवप्रसाद आचार्य हुँदै वर्तमान वडाध्यक्ष रामचन्द्र अधिकारीले यस गुफाको प्रवर्द्धन र विकासका लागि सहयोग गर्दै आएको अध्यक्ष बानियाँले उल्लेख गरे।
पृथ्वीराजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३० पावरहाउसबाट करिब १० मिनेटको हिँडाइमा पुग्न सकिने यो गुफा पोखराको मुख्य बजारबाट सार्वजनिक यातायातबाट सहज रूपमा आउनजान सकिन्छ। गुफाभन्दा माथि रहेको तिक्लाङ चोकसम्म पोखरा महानगरका सार्वजनिक बसहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।
पछिल्ला समयमा कृषि पर्यटनको आकर्षक केन्द्रसमेत भएको तिक्लाङसहित समग्र बागमारा क्षेत्र दूधको सहरका रूपमा पनि प्रसिद्ध छ। गुफा अवलोकन गर्न आउने पोखरा र आसपासका आन्तरिक पर्यटकले यस क्षेत्रमा उत्पादित दूध तरकारी आदि कोसेलीका रूपमा लैजान सक्छन्।
पोखराको दोभिल्ला हुँदै पुडिटारसम्म विश्व बैंकको सहयोगमा बनेको फराकिलो सडकका कारण पनि यहाँको मुहार फेरिएको स्थानीय बताउँछन्। गुफासहित यस क्षेत्रको पर्यटकीय विकासलाई वडाले प्राथमिकतामा राखेको पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए।
“हामीले यस क्षेत्रका हरेक सम्भावनालाई उजागर गर्न खोजेका छौँ”, उनले भने, “सुन गुफाको प्रवर्द्धनसँगै यहाँका कृषि पर्यटनका हरेक सम्भावनालाई पनि सँगसँगै लैजाने हाम्रो लक्ष्य छ ।”
सुन गुफा धेरै पर्यटकीय सम्भावना भएको गन्तव्यका रूपमा रहेको बताउने युवा पदम थापाले यसको पर्यटकीय उपयोगमा सबैको चासो पुग्नुपर्नेमा जोड दिए। यसको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार हुनसकेमा आन्तरिक पर्यटनको विकाससँगै पोखरा आउने विदेशी पर्यटकको बसाइँ लम्ब्याउन पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
“गुफा अवलोकनका लागि पर्यटकको आगमन बढाउन सकेमा त्यसले यहाँका स्थानीयको रोजगारी अभिवृद्धिमा पनि महत्वपूर्ण सहयोग पुग्ने देखिन्छ”, उनले भने, “बढ्दो पर्यटकको आगमनले यहाँका उत्पादनको बजारीकरणमा पनि सहयोग पुग्ने भएकाले अर्थतन्त्र चलायमान बनाउनसमेत गुफाको पर्यटकीय उपयोग आवश्यक छ।”
चैत ४, २०८२ बुधबार १४:२९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।