सांसद्हरूलाई रविको चेतावनी : अनुशासन उल्लंघन गर्नुहुन्छ भने ‘यु आर रेडी टु लिभ!’

सांसद्हरूलाई रविको चेतावनी : अनुशासन उल्लंघन गर्नुहुन्छ भने ‘यु आर रेडी टु लिभ!’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई आफ्नो व्यवहार र अभिव्यक्तिमा परिवर्तन ल्याउन निर्देशन दिएका छन्।

सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले अब उनीहरू केवल अभियन्ता मात्र नभएर राज्यको नीति निर्माण गर्ने गरिमामय पदमा पुगिसकेको स्मरण गराए।

सभापति लामिछानेले सांसदहरूलाई अनुशासित हुन आग्रह गर्दै कडा चेतावनी समेत दिए।

‘तपाईंहरू अब अभियन्ता होइन, सांसद हुनुभएको छ। हल्काफुल्का टिप्पणी नदिनुस् र सञ्चारकर्मीले बोलाउने बित्तिकै जे पायो त्यही नबोल्नुस्,’ लामिछानेले भने, ‘अझै पनि पहिलाकै जस्तो गैरजिम्मेवार व्यवहार गर्नुहुन्छ भने तपाईंहरू पार्टी छाड्न तयार हुनुस्।’

उनले सांसदहरूलाई स्वतन्त्रताको प्रयोग गर्दा अनुशासित हुन र कुनै पनि प्रकारको अराजकता नदेखाउन सचेत गराए।

सञ्चारमाध्यमसँगको सम्बन्धका बारेमा बोल्दै लामिछानेले सांसदहरूलाई पूर्ण रूपमा नबोल्न नभनिएको तर बोल्नुअघि पार्टीसँग सल्लाह गर्नुपर्ने बताए।

‘मिडियासँग नबोल्नुस् भनेको होइन, तर एकपटक पार्टीसँग सल्लाह गर्नुहोला,’ उनले भने, "तपाईंहरूको एउटा सानो र हल्का टिप्पणीले सिङ्गो पार्टीको छवि र भविष्यमा गम्भीर असर पुर्याउन सक्छ।’

मन्त्री चयनमा ‘मिडिया ट्रायल’ नगर्न आग्रह
नयाँ सरकारमा रास्वपाको सहभागिता र मन्त्रीहरूको चर्चाका विषयमा पनि लामिछानेले स्पष्ट पारेका छन्। उनले पार्टीले कसलाई क्याबिनेट (मन्त्रिमण्डल) मा पठाउने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको जानकारी दिए।

‘हामीले कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लगाएका छैनौँ, त्यसैले बाहिर आएका हल्लाका भरमा 'मिडिया ट्रायल' नगरौँ’, उनले सांसदहरूलाई थप संयमित हुन आग्रह गर्दै भने।

चैत ४, २०८२ बुधबार १३:५४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।