प्लास्टिक नियन्त्रणले फेरियो धनगढीको मुहार, फोहोरबाटै वार्षिक ७२ लाखभन्दा बढी आम्दानी
कैलाली : कुनै समय फोहोर र प्लास्टिकको थुप्रोका कारण दुर्गन्धित बनेको सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीले अहिले आफ्नो परिचय बदलेको छ। तीन–चार वर्ष अघिसम्म मुख्य बजार क्षेत्रमै फैलिएको दुर्गन्ध अहिले हराएको छ भने शहरमा हरियाली र स्वच्छता देखिन थालेको छ।
धनगढी उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा कडाइ गरेपछि सहरको रूप फेरिएको हो। नगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई नगर प्रहरीमार्फत तत्कालै कारबाही गर्ने नीति लिएपछि नागरिकको बानीमा समेत सुधार आएको छ।
धनगढी–१३ का रामप्रसिंह कार्कीका अनुसार अहिलेको धनगढी र केही वर्षअघिको अवस्थामा आकाश–जमिनको फरक छ।
"नेतृत्वको दृढ अठोटका कारण प्लास्टिक व्यवस्थापन सम्भव भएको हो," कार्कीले भने, "जताजतै प्लास्टिक मात्रै देख्निथ्यो अहिले हरियाली र चिटिक्क अनि व्यवस्थित सडक देखिन थालेको छ।"
त्यस्तै, स्थानीय चेतराज भट्ट र विद्यार्थी ईश्वर पाठक पनि शहरको फेरिएको स्वरूपबाट उत्साहित छन्। उनीहरूका अनुसार डस्टबिनको उचित व्यवस्थापन र प्लास्टिकमा लगाइएको पूर्ण प्रतिबन्धले गर्दा अहिले मास्क नलगाई ढुक्कसँग हिँड्न सक्ने वातावरण बनेको छ।
फोहोरबाट वार्षिक ७२ लाख आम्दानी
धनगढी उपमहानगरपालिकाले फोहोर व्यवस्थापनबाट आम्दानी समेत गरीरहेको छ। हाल उपमहानगरले फोहोर व्यवस्थापनबाट वार्षिक ७२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको छ। करिब ९० प्रतिशत फोहोरलाई स्रोतमा नै वर्गीकरण गरिने भएकाले पुनः प्रयोग गर्न मिल्ने सामग्री बिक्री गरेर नगरको कोषमा रकम जम्मा हुने गरेको हो।
प्लास्टिकमा प्रतिबन्ध
उपमहानगरपालिकाले प्लास्टिकका झोला, प्लेट, गिलास र मालाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। उप महानगरपालिकाका वातावरण अधिकृत अशोकराज अवस्थीका अनुसार नगरपालिकाले अनुगमनको पाटोलाई पनि तिब्र बनाएको छ।
उनका अनुसार चालु आर्थिक वर्षमा १०५ किलो प्रतिबन्धित प्लास्टिक जफत गरिएको छ। आर्थिक वर्ष २०८०/८१ मा भने दुई सय दुई किलो र २०८१/८२ को सुरुवाती चरणमा एक सय ३४ किलो प्लास्टिक नष्ट गरिएको थियो।
उनले लुकिछिपी प्रयोग गर्नेहरूलाई कडा कारबाही र जरिवाना गर्ने नीतिले गर्दा व्यापारी र उपभोक्ता दुवै सचेत हुने गरेका उनले बताए।
अझै कायम छन् केही चुनौती
खुला सीमाना र छिमेकी पालिकाहरूमा समेत प्लाष्टिक प्रयोग भइरहेका कारण प्लास्टिक पूर्ण रुपमा प्रतिबन्ध हुन नसकेको अधिकृत अवस्थी बताउँछन्। "भारतबाट किनमेल गरेर भित्रिने प्लास्टिक र छिमेकी पालिका (कैलारी, गौरीगंगा, गोदावरी) मा प्रतिबन्ध नहुँदा त्यहाँबाट सामानसँगै प्लास्टिक धनगढी भित्रिने गरेको छ," उनले भने।
साथै पहाडी क्षेत्रबाट आयात हुने तरकारी र फलफूलमा प्रयोग हुने प्लास्टिक व्यवस्थापन गर्न पनि चुनौतीपूर्ण देखिएको अवस्थीले बताए।
चैत ४, २०८२ बुधबार १३:५७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।