स्वार्थ समूहको चिया पिउनुअघि शहीदकी आमालाई सम्झनुस् : सभापति लामिछाने

स्वार्थ समूहको चिया पिउनुअघि शहीदकी आमालाई सम्झनुस् : सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई कुनै पनि स्वार्थ समूहको प्रलोभनमा नपर्न र जनताको बलिदानको सम्मान गर्न कडा निर्देशन दिएका छन्।

बुधबार आयोजित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति लामिछानेले सांसदहरूलाई पदको गरिमा जोगाउन र जिम्मेवार बन्न सचेत गराएका हुन्।

आफ्नो साढे तीन वर्षको राजनीतिक अनुभव सुनाउँदै लामिछानेले नेपालको सत्ता राजनीतिको विकृत पाटोबारे चर्चा गरे।

‘मैले बुझेको कुरा के हो भने, सरकार बनेको रातबाटै एउटा समूह त्यसलाई ढाल्न सक्रिय भइहाल्छ’, उनले भने।

उनले सांसदहरूलाई बाह्य हस्तक्षेपभन्दा पनि आन्तरिक एकतामा जोड दिन आग्रह गरे।

‘यदि हामी आफैँ मिल्न सकेनौँ भने हामीलाई सिध्याउन कुनै स्वार्थ समूह नै चाहिँदैन, हाम्रा गुट-उपगुट नै काफी हुन्छन्’, उनले थपे।

सांसदहरूलाई जनमतको कदर गर्न आग्रह गर्दै लामिछानेले यो निर्वाचन सामान्य अवस्थामा नभई युवाहरूको रगत र बलिदानको जगमा भएको स्मरण गराए।

कार्यक्रममा सहभागी एक शहीदकी आमालाई देखाउँदै उनले भने, ‘यहाँ हामीसँग आफ्नो छोराको बलिदानी दिएकी शहीदकी आमा पनि हुनुहुन्छ। कुनै पनि स्वार्थ समूहले अफर गरेको एक कप चिया पिउनुअघि ती शहीदकी आमालाई सम्झनुहोला।’

सभापति लामिछानेले सांसद भइसकेपछि सार्वजनिक अभिव्यक्ति र व्यवहारमा गम्भीरता आउनुपर्ने बताए। हिजोका दिनमा जस्तो सस्तो लोकप्रियताका लागि हल्का रूपमा प्रस्तुत हुने छुट अब कसैलाई नभएको उनले स्पष्ट पारे।

‘भोट दिने नागरिकको सम्मानका लागि हामी जिम्मेवार बन्नैपर्छ। हिजोका जस्तै सार्वजनिक अभिव्यक्ति दिएर अब पुग्दैन, म लगायत कसैलाई पनि जथाभाबी बोल्ने छुट छैन’, लामिछानेले निर्देशन दिए।

उनले सांसदहरूलाई पदको प्रलोभन देखाएर वरपर घुम्ने स्वार्थ समूहहरूबाट टाढा रहन र संसद्मा जनताका मुद्दाहरूलाई सशक्त रूपमा उठाउन समेत आग्रह गरेका छन्।

चैत ४, २०८२ बुधबार १३:४८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।