इन्दोरमा इलेक्ट्रिक कार चार्ज गर्दा आगलागी : सात जनाको मृत्यु, ग्यास सिलिन्डर विस्फोटले घर भत्कियो
एजेन्सी : भारतको मध्य प्रदेशस्थित इन्दोरमा बुधबार बिहानै एउटा घरमा आगलागी हुँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ।
शहरको बङ्गाली चौराहानजिकै रहेको एक कोलोनीमा बिहान करिब ४ बजेतिर सबैजना सुतिरहेका बेला यो दुर्घटना भएको हो।
इन्दोरका प्रहरी कमिश्नर सन्तोष कुमार सिंहका अनुसार पुगलिया परिवारको घरबाहिर राति इलेक्ट्रिक कार चार्जमा राखिएको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार चार्ज गर्ने ठाउँमा सट सर्किट भएपछि कारमा आगो सल्किएको थियो। केही मिनेटमै उक्त आगो घरभित्र फैलिएको थियो।
उक्त घरभित्र करिब १५ वटा ग्यास सिलिन्डर राखिएको पाइएको छ। आगो सल्किएपछि ग्यास सिलिन्डरहरू एकपछि अर्को गर्दै विस्फोट हुन थाले।
प्रत्यक्षदर्शीका अनुसार कम्तीमा चारवटा सिलिन्डर ठूलो आवाजका साथ विस्फोट भएका थिए, जसका कारण घरको एक हिस्सा नै भत्किएको थियो। विस्फोट यति शक्तिशाली थियो कि भित्र रहेका मानिसहरूलाई बाहिर निस्कने मौका नै मिलेन।
घरमा पारिवारिक कार्यक्रम भइरहेका कारण धेरै आफन्तहरू त्यहाँ बास बसेका थिए। प्रहरीका अनुसार विस्फोटपछि घरको बिजुली काटिएको थियो, जसले गर्दा ढोकामा रहेको ‘इलेक्ट्रोनिक लक’ प्रणाली जाम भयो।
बाहिर निस्कने ढोका नखुलेपछि मानिसहरू भित्रै थुनिन पुगे र निसास्सिएर तथा जलेर उनीहरूको मृत्यु भयो।
अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
चैत ४, २०८२ बुधबार ११:१६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।