विज्ञ भन्छन्- लारीजानीको हत्यापछि ट्रम्पलाई युद्ध रोक्न झन् कठिन हुन्छ

विज्ञ भन्छन्- लारीजानीको हत्यापछि ट्रम्पलाई युद्ध रोक्न झन् कठिन हुन्छ

एजेन्सी : राजनीतिक विज्ञ ट्रिटा पारसीले अली लारीजानीको हत्यापछि नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि मध्यपूर्वको युद्ध अन्त्य गर्ने बाटो थप चुनौतीपूर्ण बन्न सक्ने बताएका छन्।

पारसीका अनुसार इरानी राजनीतिमा लारीजानीको भूमिका अत्यन्तै महत्त्वपूर्ण र रणनीतिक थियो। उनले सिधै अन्तिम निर्णयहरू नलिए पनि इरानका विभिन्न राजनीतिक शक्ति र नेताहरूबीच सहमति जुटाउने ‘मिडिएटर’का रूपमा काम गर्ने गर्थे।

उनको मृत्युले इरानी नेतृत्वभित्रको आन्तरिक सन्तुलनमा असर पर्न सक्ने र यसले शान्ति प्रक्रिया वा युद्ध विरामका प्रयासलाई कठिन बनाउने पारसीको तर्क छ।

यद्यपि, विज्ञ पारसीले इरान यस्तो परिस्थितिका लागि पहिले नै मानसिक रूपमा तयार रहेको पनि उल्लेख गरेका छन्।

इजरायलले आफ्ना शीर्ष नेता र अधिकारीहरूलाई निशाना बनाउन सक्छ भन्ने डरका कारण इरानले महत्त्वपूर्ण पदहरूका लागि नयाँ नेतृत्वको टोली (उत्तराधिकारी) पहिल्यै तयार पारेर राखेको उनले बताएका छन्।

नेतृत्व तहमा लगातार भइरहेका यस्ता हमलाले इरानको रणनीतिक योजनामा धक्का पुगे पनि उसले आफ्नो नेतृत्व संरचनालाई पूर्ण रूपमा भत्किन नदिन पूर्वतयारी गरेको देखिएको छ।

चैत ४, २०८२ बुधबार ०८:५६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।