समृद्धिका लागि हातेमालो गर्न आह्वान गर्दै प्रधानमन्त्री भनिन्- 'नेपाल नयाँ परिवर्तनको चरणमा छ'

समृद्धिका लागि हातेमालो गर्न आह्वान गर्दै प्रधानमन्त्री भनिन्- 'नेपाल नयाँ परिवर्तनको चरणमा छ'

काठमाडौं : नेपाल नयाँ परिवर्तनको चरणमा प्रवेश गरेको बताउँदै प्रधानमन्त्री सुशीला कार्कीले देशको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त नहुने बताएकी छन्। 

नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले मुलुकलाई स्थायित्व र विकासतर्फ अघि बढाउने आशा जगाएको उनको भनाइ छ। सोमबार काठमाडौंमा आयोजित एनआरएनएको १२ औँ ग्लोबल कन्फ्रेन्समा कार्कीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी र ज्ञान देशका लागि आवश्यक रहेको औँल्याइन्।

उनले भनिन्, "नेपाल अहिले नयाँ परिवर्तनको नयाँ चरणमा छ। नयाँ जनादेश र बद्लिँदो राजनीति परिवेशले मुलुकलाई स्थायित्व,विकास र समृद्धि अघि बढाउने आशा जगाएको छ।" कार्कीले मातृभूमिप्रतिको जिम्मेवारी सम्झेर विकास निर्माणमा सक्रिय हुन प्रवासी नेपालीहरूलाई आग्रह गरिन्।

उनले भनिन्, "नेपालको विकास र समृद्धिको लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन। स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य लगानी ज्ञान, नवप्रवर्द्धन आवश्यक हुन्छ। त्यसैले सबै गैरआवसिय नेपालीलाई मातृभूमिप्रतिको माया जिम्मेवारीलाई सम्झेर नेपालको विकासमा सक्रियतापूर्वक लाग्न आग्रह व्यक्त गर्दछु।"

मातृभूमिप्रतिको प्रेमले देशलाई नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गर्दै उनले विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली हुनुमा गर्व गर्ने वातावरण निर्माण गर्नुपर्ने बताइन्। देशको समग्र प्रगति र समृद्धिका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।

चैत २, २०८२ सोमबार २०:४३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।