मुख्यमन्त्रीमाथि घुसको आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ

मुख्यमन्त्रीमाथि घुसको आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। 

कैलालीको वन निर्देशनालयमा कार्यरत भट्टलाई सोमबार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले भट्टविरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको आधारमा पक्राउ गरिएको बताए।

उनका अनुसार भट्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। भट्टले मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

भट्टले केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए।

चैत २, २०८२ सोमबार १५:१४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।