चैत २७ मा तीन फिल्म भिड्दै: रेखा र विराजको क्रेजबीच सागरको ‘अग्नि परीक्षा’

चैत २७ मा तीन फिल्म भिड्दै: रेखा र विराजको क्रेजबीच सागरको ‘अग्नि परीक्षा’

काठमाडौं : प्रतिनिधि सभाको निर्वाचनका कारण सुस्ताएको नेपाली चलचित्र बजार चैत महिनामा फेरि तात्ने संकेत देखिएको छ। फागुनमा प्रदर्शनमा आएका फिल्मले लगानी समेत उठाउन नसकिरहेका बेला चैत महिनाको अन्तिम हप्ता र नयाँ वर्षमा भने ठूला ब्यानरका चलचित्रहरू प्रदर्शनमा आउने तयारीमा छन्।

फागुनमा सुस्ताएको फिल्म बजार

फागुन १ मा प्रदर्शन भएका ‘बिगुल’, ‘श्री बुकुरोः द होम कलिङ’ र ‘शिवांश’ र फागुन १५ मा प्रदर्शनमा आएको राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ले दर्शकको साथ पाउन सकेनन्। यी फिल्महरूको लगानी ‘बालुवामा पानी खन्याए’ सरह भयो।

फागुन २९ बाट रिलिज भएको ‘लालिमा’ को अवस्था पनि उस्तै देखियो। खासै हल्ला नगरी हलमा लागेको यो फिल्म लागेका हलमा पनि चहलपहल देखिएन्। फागुनमा लागेका अधिकांश फिल्मले निर्मातालाई खिन्न बनायो।

फागुनमा आएका फिल्मले अपेक्षाकृत व्यापार नगरेपनि चैतमा प्रदर्शन हुने फिल्मले भने बजार चलायमान बनाउने आशा गरिएको छ। 

व्यावसायिक खडेरीका बीच जोखिम मोल्दै ‘हामी तीन भाइ’

यौनकर्मीको कथावस्तुमा आधारित चलचित्र ‘लालीमा’ ले बजारमा खासै उत्साह थप्न सकेन। ‘लालीमा’ को फितलो व्यापार र चैत ५ गते प्रदर्शन हुने बलिउड चलचित्र ‘धुरन्धर २’ को प्रभावका कारण चैतको पहिलो शुक्रबार (६ गते) कुनै पनि नयाँ नेपाली चलचित्रले प्रदर्शनको आँट गरेनन्।

बलिउड चलचित्रको दबदबा र स्वदेशी चलचित्रको खडेरीका बीच निर्देशक मधुसुदन भट्टराईले भने जोखिम मोल्ने निर्णय गरेका छन्। भट्टराई निर्देशित चलचित्र ‘हामी तीन भाइ’ चैत १३ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। ‘धुरन्धर २’ को व्यावसायिक लहर जे-जस्तो भए तापनि नेपाली दर्शकलाई हलसम्म तान्नेमा निर्देशक भट्टराई ढुक्क देखिन्छन्।

चैत २७ गतेअघि अन्य कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा नआउने भएकाले ‘हामी तीन भाइ’ ले कम्तीमा दुई हप्तासम्म हलमा एकछत्र राज गर्ने अवसर पाउने देखिन्छ। 

रेखा र विराजको क्रेजमा सागरको अग्नि परीक्षा

नयाँ वर्षको छेको पारेर चैत २७ गते तीन वटा ठूला फिल्म एकसाथ प्रदर्शन हुँदैछन्। विराज भट्टको ‘राम नाम सत्य’, रेखा थापाको ‘३६ को आँकडा’ र सागर लम्साल (बले) को ‘डल्लेले इन्ट्री मार्यो’ प्रतिस्पर्धामा आउँदैछन्। 

अघिल्लो वर्षको दसैँमा देखिएको ‘भिडन्त’को झल्को दिने गरी यस वर्ष चैत २७ गते पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

गत वर्षको दसैँमा दीपकराज गिरीको ‘छक्का पञ्जा ५’ र विराज भट्टको ‘१२ गाउँ’ बीचको प्रतिस्पर्धाका बीच जितु नेपालको ‘ज्वाइँ साब’ मारमा परेको थियो। छोरा समीर भट्टलाई डेब्यु गराएका विराजले सामाजिक सञ्जालको ‘अल्गोरिदम’ र क्रेजलाई भरपुर प्रयोग गर्दा ‘ज्वाइँ साब’ न्युन शोका बीच खुम्चिनु परेको थियो। समीर भट्टको सफलतासँग सन्तोष सेनको ‘बलिदान’ को भविष्य समेत जोडिएकाले विराजको टिमले प्रचारमा कुनै कसर बाँकी राखेको थिएन, जसको प्रत्यक्ष असर जितुको चलचित्रलाई परेको थियो।

अहिले ठ्याक्कै त्यस्तै अवस्था चैत २७ मा दोहोरिने देखिएको छ। रेखा थापाको ‘३६ को आँकडा’ र विराज भट्टको ‘राम नाम सत्य’ बीचको महाभिडन्तमा सागर लम्साल (बले) अभिनित ‘डल्लेले इन्ट्री मार्यो’ चेपुवामा पर्ने देखिएको छ।

चर्चा र क्रेजका हिसाबले रेखा र विराज निकै अगाडि देखिएकाले यी दुईको छायाँमा सागरको चलचित्र हलमा आएको र उत्रेको दर्शकले पत्तै नपाउने अवस्था सिर्जना हुन सक्ने आकलन हुन थालेका छन्।

राम नाम सत्यमा विराज भट्टका साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा प्रशान्त ताम्राकार, खुशी कार्कीलगायतको अभिनय रहेको छ। माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा माइकल चन्दको निर्देशन र उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ। 

३६ को आँकडामा रेखा थापासँगै पूजा शर्मा, निरुता सिंह र ‘परान’ मार्फत चर्चामा रहेका महेश त्रिपाठी र  पुष्प खड्कालगायतका कलाकारको अभिनय रहेको छ। हालै महेशको फिल्म ‘परान’ले यस वर्षको सर्वाधिक कमाई गर्ने फिल्मको सुचीमा राखेको छ। गत कात्तिक १४ गतेबाट हलमा लागको यो फिल्मले हलमा सय दिन समेत मनाउँदै १८ करोड नजिकको व्यापार गरेको छ।

रेखा फिल्मस र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन्।

डल्लेले इन्ट्री मार्योमा सागर लम्साल र रोशनी खड्काको मुख्य भुमिका रहेको फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन्।

यी तीनै फिल्म फरक कथामा निर्माण भएका छन्। 

ठूला ब्यानरका तीन फिल्म प्रर्दशन हुने भएपछी चैत २७ गतेलाई प्रदर्शन मिती तोकेको विपिन कार्की अभिनित फिल्म ‘काजी’ ले भने आफ्नो प्रदर्शन स्थगित गरेको छ। 

वैशाख १ मा तुलसी घिमिरेको ‘पहाड’

चैत २७ को त्रिपक्षीय भिडन्तको तीन दिनपछि अर्थात् बैशाख १ गतेबाट वरिष्ठ निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’ प्रदर्शनमा आउँदैछ। विपिन कार्की, मदनकृष्ण श्रेष्ठ र दिवंगत सुनिल थापा, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यको अभिनय रहेको यो फिल्मले गाउँघरको कथा पस्केको छ।

रञ्जित गजमेरको सङ्गीत र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेको फिल्ममा रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको छन्। फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ।   

चैत २, २०८२ सोमबार १७:०५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।