रास्वपाको समानुपातिक सूचीमा रुपन्देहीका ६ जना, राप्रपाबाट ताहिर अली सिफारिस
बुटवल : प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ दलहरूले निर्वाचन आयोगमा नामावली पेश गर्ने क्रम जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आफ्नो सूची बुझाएका छन्।
रास्वपाले बुझाएको सूचीमा रुपन्देहीका ६ जनाको नाम समावेश गरिएको छ।
पार्टी स्रोतका अनुसार यसअघि आयोगमा पेश गरिएको बन्दसूचीमा रहेका रुपन्देहीका उम्मेदवारहरू नै समानुपातिक प्रतिनिधिसभा सदस्यका रूपमा सिफारिस भएका हुन्।
औपचारिक रूपमा नाम सार्वजनिक नगरिए पनि रुपन्देहीबाट भैरहवाकी पुनमकुमारी अग्रवाल र ज्ञानु पौडेल सूचीमा परेको बताइएको छ।
त्यसैगरी देवदहकी श्रद्धा कुँवर, बुटवलकी अमृता विक र मञ्जु भुसाल तथा शुद्धोधन गाउँपालिकाका सुदीप ढकाललाई पनि रास्वपाले समानुपातिक सांसदका लागि सिफारिस गरेको स्रोतको भनाइ छ।
निर्वाचन आयोगले सूची अनुमोदन गरे यी सबै उम्मेदवार रास्वपाको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सांसद बन्ने सम्भावना रहेको छ।
उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुझाएको समानुपातिक सूचीमा मुस्लिम पुरुष कोटाअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाका ताहिर अलीको नाम समावेश गरिएको छ। आयोगबाट सूची स्वीकृत भए उनी पनि प्रतिनिधिसभाको समानुपातिक सदस्य बन्ने निश्चित हुने छ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा रास्वपाले सबै क्षेत्र जितेको थियो।
चैत २, २०८२ सोमबार ०७:२७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।