विवादित स्वकीयलाई कोषको अध्यक्ष बनाएपछि प्रधानमन्त्री सुशीलासँग रिसाए जेनजी
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रकृति संरक्षण कोषको अध्यक्षमा आफ्नो स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेपछि जेनजी आन्दोलनका अगुवाहरू रिसाएका छन्। प्रधानमन्त्रीको स्वकीय सचिवालयमा आफ्नो श्रीमतीसहितका नातेदार भर्ना गरेर विवादमा आएका श्रेष्ठ विज्ञ नभए पनि आफू प्रधानमन्त्रीहुँदा सघाएको भन्दै कार्कीले उनलाई अध्यक्षमा नियुक्त गरेकी हुन्।
कोषको संरक्षकको रूपमा उनले श्रेष्ठलाई नियुक्त गरेको समाचार सार्वजनिक भए लगत्तै जेनजी आन्दोलनका अगुवा रक्षा बम अनि तनुजा पाण्डेले सामाजिक सञ्जालमा लेखेर जेनजी शहीदको अपमान गरेको भन्दै कार्कीको निर्णयको चर्को आलोचना गरेका छन्।
रक्षा बमले जेनजी आन्दोलन देशले, बिस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि भएको तर प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद्, विभाग वा समितिका कुर्सीहरू बाँडफाँड गर्नका लागि नभएको लेखेकी छिन्।
“होस् गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ। सडकले रगत भुलेको छैन, र रगतले रङ्गिएको कुर्सीले तपाईँलाई कुनै उचाइ दिने छैन” उनले लेखेकी छिन्।
तनुजा पाण्डेले पनि सामाजिक सञ्जालमा लेखेकी छिन् “‘आसेपासेवाद’ बाट माथि उठ्ने कुरा गर्नेहरूकै वरिपरि यस्तो घटनाहरू बारम्बार दोहोरिनु आफैँमा व्यङ्ग्य जस्तै लाग्छ। ‘आदर्श’ प्रकरणले फेरि एक पटक देखायो, यहाँ समस्या पात्रहरूको मात्र होइन, संस्कृतिको हो।”
सडकले रगत भुलेको छैन : रक्षा बम
सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए।
केका लागि थाहा छ? यो देशले, बिस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि। प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद्, विभाग वा समितिका कुर्सीहरू बाँडफाँड गर्नका लागि होइन।
होस गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ। सडकले रगत भुलेको छैन, र रगतले रङ्गिएको कुर्सीले तपाईँलाई कुनै उचाइ दिने छैन।
भवदीय,
जेनजी आन्दोलनको एक सम्भावित मृतकको तर्फबाट।
अलिकति लाज पनि मान्नुहोस्, अलिकति डर पनि मान्नुहोस् : तनुजा पाण्डे
जनतालाई उल्लु बनाएर पुगेन हजुर?
प्रधानमन्त्री को स्वकीय सचिव आदर्श श्रेष्ठले आफ्नै पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाउने प्रयास गरेको घटना त्यति पुरानो पनि होइन, त्यो पनि युवा आन्दोलनहरू र ‘नयाँ राजनीतिक संस्कार’ को चर्चा चलिरहेको समयमा। तर आज त्यही व्यक्ति प्रधानमन्त्रीका स्वकीय सचिव बनेर अन्ततः प्रकृति संरक्षण कोष जस्तो संस्थामा पठाइने सिफारिसमा पुग्छन्।
आसेपासेवाद’ बाट माथि उठ्ने कुरा गर्नेहरूकै वरिपरि यस्तो घटनाहरू बारम्बार दोहोरिनु आफैँमा व्यङ्ग्य जस्तै लाग्छ। ‘आदर्श’ प्रकरणले फेरि एक पटक देखायो, यहाँ समस्या पात्रहरूको मात्र होइन, संस्कृतिको हो।
अलिकति लाज पनि मान्नुहोस्, अलिकति डर पनि मान्नुहोस्।
शहिदको रगतको मजाक नगर्नुस्। देश र शहीदमाथि मजाक गरिन्छ भने… मजाक गर्नेहरूको अवस्था कस्तो हुन्छ भन्ने कुरा हरेक दशकमा नेपालमा देख्न सकिन्छ। घिन लाग्दो राजनीति नगर्नुस्। नत्र सत्ताको स्वाद र पहुँचको खेलले यहाँ सबैलाई सडकमा झारेको छ, र तपाईँ अर्को पात्र नबन्नु।
जनताको आशा, पीडा र बलिदानलाई आफ्नै स्वार्थको खेल बनाउने, शहीदको रगतलाई सत्तामा चढ्ने सिँढी बनाउने गद्दारहरूलाई इतिहासले कहिल्यै माफ गर्दैन।
चैत १, २०८२ आइतबार २०:५९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।