धनुषा-१ को सांसदमा मातृका यादव नै, किशोरीको नाममा आएन अन्तरिम

धनुषा-१ को सांसदमा मातृका यादव नै, किशोरीको नाममा आएन अन्तरिम

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट  धनुषा-१ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका किशोरी साह 'कमल' ले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश आएन। कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध उनी रिट लिएर सर्वोच्चमा गएका थिए।

न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले आइतबार साहको माग अनुसार अन्तरिम आदेश दिएन। उनको अन्तरिम आदेश अस्वीकार भएसँगै आयोगले गरेको घोषणा अनुसार सो क्षेत्रबाट मातृका यादव प्रतिनिधि सभा सदस्य भएका छन्।

उनको उम्मेदवारी दर्तापछि उनको नाम बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी परेपछि निर्वाचन आयोगले फागुन १८ मा उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। 

निर्माण व्यवसायी रहेका उनी संलग्न कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको भन्दै कालोसूचीमा  रहेको खुलेको थियो। 

निर्वाचन आयोगले धनुषा-१ को मतगणना सकेर नेपाली कम्युनिस्ट पार्टीका यादव निर्वाचित भएको घोषणा गरेर प्रमाण पत्र नै दिइसकेको छ।

चैत १, २०८२ आइतबार १८:४१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।