दयाहाङ र तेरिया अभिनित ‘मितज्यू’को रिलिज एक साता अगाडि सर्यो, जेठ ८ मा प्रदर्शन हुने
काठमाडौं : अनिल बुढा मगर निर्देशित फिल्म ‘मितज्यू’ तोकिएको मितिभन्दा एक साता अगाडि प्रदर्शन हुने भएको छ।
यसअघि जेठ १५ गते रिलिज गर्ने तयारी गरिएको फिल्म अब जेठ ८ गतेबाट प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ।
आइतबार फिल्मको दोस्रो पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले नयाँ प्रदर्शन मितिबारे जानकारी गराएको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई फरक–फरक स्वरूपमा देखाइएको छ। पोस्टरमा अभिनेता दयाहाङ राई घाइते अवस्थामा देखिन्छन् भने सौगात मल्ल हातमा भाले बोकेर खुसी मुद्रामा देखिएका छन्।
त्यसैगरी तेरिया फौजा मगर टाउकोमा कपडा बेरेर उदास मुद्रामा देखिएकी छन्। पोस्टरमा शिशिर वाङ्देल र राज थापा पनि समावेश छन्। पृष्ठभूमिमा पहाडी सडकमा गुडिरहेको गाडी देखाइएकाले फिल्मले गाउँले परिवेशको कथा प्रस्तुत गर्ने संकेत पोस्टरले दिएको छ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको अभिनय रहेको छ।
यस फिल्मबाट तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा नेपाली फिल्ममा डेब्यु गरेकी हुन्।
जनक घर्ती मगरको लगानी रहेको यो फिल्म जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। शिशिर बिशंखे छायाँकार रहेको यस फिल्मका सम्पादक लोकेश बज्राचार्य हुन्।
फिल्ममा द्वन्द्व निर्देशन प्रभात विष्टको छ भने पार्श्व संगीत शैलेश श्रेष्ठले तयार पारेका छन्।
श्रीकृष्ण बम मल्लको संगित रहेको यस फिल्मका गीतमा मेलिना राई र लक्ष्मी मल्ल र स्वयं मल्लको स्वर रहेको छ। कोरियोग्राफी मिङ्मा लेप्चाले गरेका छन्।
फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।
चैत १, २०८२ आइतबार १७:३१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।