इरान-इजरायल युद्ध: ट्रम्प र इरानद्वारा वार्ताको प्रस्ताव अस्वीकार
एजेन्सी : दुई हप्ताअघि अमेरिका र इजरायलको भीषण हवाई आक्रमणबाट सुरु भएको इरान युद्ध अन्त्यका लागि मध्यपूर्वका सहयोगी देशहरूले थालेको कूटनीतिक पहललाई अमेरिकी प्रशासनले अस्वीकार गरेको छ।
ट्रम्पले इरानसँग तत्काल वार्ता नगर्ने अडान लिएपछि मध्य पूर्वमा द्वन्द्व अझै लम्बिने र सुरक्षा अवस्था थप जटिल बन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रोयटर्सका अनुसार ओमान र इजिप्ट लगायतका देशहरूले मध्यस्थताको प्रयास गरे तापनि ह्वाइट हाउसका एक उच्च अधिकारीले अहिले वार्ताको समय नभएको स्पष्ट पारेका छन्। ती अधिकारीले भने, "राष्ट्रपति ट्रम्प अहिले वार्तामा रुचि राख्नुहुन्न, हाम्रो लक्ष्य तेहरानको सैन्य क्षमतालाई थप कमजोर बनाउनु हो। अहिले 'अपरेशन एपिक फ्युरी' निरन्तर अगाडि बढ्नेछ।"
इरानले पनि अमेरिका र इजरायलले आफ्ना आक्रमणहरू पूर्ण रूपमा बन्द नगरेसम्म युद्धविरामको कुनै पनि सम्भावनालाई नकार्दै आएको छ। इरानका दुई वरिष्ठ स्रोतका अनुसार केही देशहरूले मध्यस्थता गरेर युद्ध अन्त्यको प्रयास गरे पनि इरानले आक्रमण बन्द नभएसम्म वार्तामा बस्ने सम्भावना अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ।
धेरै देशहरूले मध्यस्थताको प्रयास गरे तापनि वासिङ्टन र तेहरान दुवै पक्ष पछि हट्ने संकेत नदेखिएकाले यो युद्ध अझ बढ्ने खतरा बढेको छ।
इरानको मुख्य तेल निर्यात केन्द्र 'खर्ग टापु' मा शुक्रबार राति भएको अमेरिकी आक्रमणले ट्रम्प सैन्य कारबाहीलाई अझ सशक्त बनाउने अडानमा रहेको पुष्टि गर्दछ। अर्कोतर्फ, इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीले स्ट्रेट अफ होर्मुज बन्द राख्ने र छिमेकी राष्ट्रहरूमाथि आक्रमण बढाउने चेतावनी दिएका छन्।
दुई हप्तादेखि जारी यस युद्धका कारण अहिलेसम्म २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जसमा अधिकांश इरानी नागरिक छन्। विश्वको कुल तेल आपूर्तिको पाँचौँ हिस्सा ओगट्ने स्ट्रेट अफ होर्मुज ठप्प भएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढेको छ।
अमेरिकी प्रशासनभित्र पनि युद्धबारे मतभेद देखिएको छ। केही अधिकारीहरूले पेट्रोलियम मूल्य बढ्दा आगामी मध्यावधि निर्वाचनमा सत्तारुढ दललाई राजनीतिक क्षति हुन सक्ने भन्दै युद्ध छिटो अन्त्य गर्न सुझाव दिएका छन्। तर, तर अर्को समूहले भने इरानको मिसाइल कार्यक्रम नष्ट गर्न र उसलाई आणविक हतियार बनाउनबाट रोक्न आक्रमण जारी राख्नुपर्ने धारणा राखेका छन्।
चैत १, २०८२ आइतबार १३:४५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।