होर्मुज जलमार्गमा तनाव, विश्व ऊर्जा सुरक्षा संकटमा

होर्मुज जलमार्गमा तनाव, विश्व ऊर्जा सुरक्षा संकटमा

एजेन्सी : इरानसँग अमेरिका र इसराइलको जारी सैन्य संघर्षका कारण रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने 'होर्मुज स्ट्रेट' (होर्मुज जलमार्ग) लगभग बन्द अवस्थामा जस्तै छ।

विश्वको समुद्री तेल व्यापारको करिब २० प्रतिशत हिस्सा ओगट्ने यस मार्गमा उत्पन्न अवरोधले विश्वव्यापी ऊर्जा सुरक्षालाई संकटमा धकेलिदिएको छ।

द्वन्द्व सुरु हुनुअघि प्रतिब्यारेल ६८ देखि ७० डलरको आसपास रहेको कच्चा तेलको मूल्य अहिले १०० अमेरिकी डलर पुगेको छ। यसका कारण धेरै देशहरूमा इन्धन संकट र महँगीको जोखिम बढेको छ।

ट्रम्पको अडान र अन्तर्राष्ट्रिय आह्वान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत मार्च १४ मा एक सन्देश जारी गरेर अमेरिकाले 'जुनसुकै हालमा' होर्मुज स्ट्रेट खुला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायत लगायतका प्रभावित राष्ट्रहरूलाई यस जलमार्गको सुरक्षाका लागि आफ्ना युद्धपोत पठाउन अपिल गरेका छन्।

ट्रम्पले लेखेका छन्, "हामीले इरानको सैन्य क्षमतालाई ठूलो क्षति पुर्याइसकेका छौं, तर उनीहरूले अझै पनि ड्रोन वा समुद्री बारुदी सुरुङमार्फत अवरोध पुर्याउन सक्छन्। हामी चाँडै यो मार्गलाई खुला र सुरक्षित बनाउनेछौं।"

यद्यपि, राष्ट्रपति ट्रम्पले आफ्नै देशमा राजनीतिक आलोचनाको सामना गरिरहेका छन्। इन्धनको मूल्य वृद्धिले सर्वसाधारणमा असन्तोष बढेको छ भने विपक्षीहरूले ट्रम्पले इरानको प्रतिरोध क्षमताको गलत आंकलन गरेको टिप्पणी गरेका छन्।

इरानको रणनीति र भारतको अवस्था

इरानी विदेशमन्त्री अब्बास अराघचीले होर्मुज स्ट्रेट केवल 'शत्रु देशका जहाज' का लागि मात्र बन्द गरिएको बताएका छन्। ब्लूमबर्गको विश्लेषणअनुसार, सैन्य रूपमा कमजोर देखिए पनि इरानले तेल आपूर्ति र ऊर्जा केन्द्रहरूलाई निशाना बनाएर विश्व बजारमा दबाब सिर्जना गर्ने रणनीति लिएको छ।

यसैबीच, भारत सरकारले शनिबार दिएको जानकारीअनुसार एलपीजी बोकेका दुई भारतीय जहाज (शिवालिक र नन्दा देवी) होर्मुज स्ट्रेट पार गरेर भारततर्फ आइरहेका छन्। भारतमा एलपीजीको अभावका समाचारहरू आइरहेका बेला यसलाई महत्त्वपूर्ण मानिएको छ।

सैन्य कारबाही र थप जोखिम

अमेरिका र इसराइलले इरानको प्रमुख तेल निर्यात केन्द्र रहेको 'खार्ग टापु' मा रहेका ९० भन्दा बढी सैन्य ठेगानाहरूमा आक्रमण गरेका छन्। इरानले भने आफ्नो तेल पूर्वाधार सुरक्षित रहेको दाबी गर्दै यदि ऊर्जा क्षेत्रमा थप हमला भएमा अमेरिकासँग जोडिएका अन्य ऊर्जा केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ। शनिबार यूएईको फुजैराह बन्दरगाहमा भएको आक्रमणले द्वन्द्व थप जटिल बन्ने संकेत गरेको छ।

होर्मुज जलमार्गको रणनीतिक महत्त्व

होर्मुज जलमार्ग विश्वकै सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिन्छ। अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) को अनुमानअनुसार यस बाटोबाट सामान्यतया प्रतिमहिना करिब ३ हजार जहाज आवतजावत गर्छन्। 

सन् २०२५ मा यस मार्गबाट दैनिक करिब २ करोड ब्यारेल तेल ओसारपसार भएको थियो, जसको वार्षिक आर्थिक मूल्य करिब ६०० अर्ब डलर बराबर हुन आउँछ। 

यस जलमार्गबाट निर्यात हुने कुल कच्चा तेलको झण्डै ८२ प्रतिशत हिस्सा एसियाली देशहरूमा खपत हुने गरेको छ। यो जलमार्ग इरान र ओमानको क्षेत्रीय जल सीमाभित्र पर्ने भएकाले यसको नियन्त्रण सामरिक दृष्टिले अत्यन्तै संवेदनशील मानिन्छ।

इरानसँगको यो सैन्य संघर्ष तेस्रो हप्तामा प्रवेश गरेको छ। ऊर्जा केन्द्रहरूलाई लक्षित गरी भइरहेका पछिल्ला गतिविधिले युद्ध तत्काल समाप्त हुने सम्भावना न्यून रहेको र यसको प्रत्यक्ष असर विश्व अर्थतन्त्रमा पर्ने देखिएको छ। 

चैत १, २०८२ आइतबार १०:३५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।