एलपी ग्यासमा उपभोक्तालाई प्राथमिकता दिन निगमको निर्देशन, हरेक दिन १० बजे विवरण सार्वजनिक गर्नुपर्ने
काठमाडौँ : नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ। निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यासको बिक्री वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो।
निगमले शनिवार विज्ञप्ति जारी गर्दै हाल मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको भए पनि निगमले नियमित रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आपूर्ति गरी बिक्री वितरणको व्यवस्था मिलाइरहेको जनाएको छ। मुलुकभरिका ग्यास उद्योगीलाई आ-आफ्नो उद्योगबाट बिक्रेतालाई बिक्री गर्ने परिमाण, ठेगाना र सम्पर्क नम्बरसहित हरेक दिन बिहान १० बजेभित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउन अनुरोध समेत गरेको छ।
सम्बन्धित उद्योगका बिक्रेताले उपभोक्तालाई बिक्री गरेको नाम, सम्पर्क नम्बर र परिमाणसहितको विवरण राखी सम्बन्धित उद्योगमार्फत हरेक दिन निगमलाई जानकारी गराउन निगमले अनुरोध गरेको छ।
निगमले हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको मागबमोजिम ग्यास पाउन सक्ने अवस्थाको सहजीकरणको लागि शुक्रवारदेखि लागू हुनेगरी अर्को निर्णय नभएसम्म सम्पूर्ण ग्यास उद्योगले सिलिन्डरमा सात दशमलव एक किलो एलपी ग्यास भरी प्रतिसिलिन्डर आधा मूल्य ९५५ मा बजारीकरण गर्ने/गराउने व्यवस्था मिलाइएको जनाएको छ।
फागुन ३०, २०८२ शनिबार २२:१६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।