असन्तुष्टिलाई फकाउने स्वस्तिमाको काइदा, ढिलाइको आक्रोशमाथि 'डान्स'को जादू
काठमाडौं : चुनाव सकिए लगत्तै फिल्मको प्रचारप्रसारले तीव्रता पाउन थालेको छ। हलमा झन्डै एक दर्जन फिल्म प्रदर्शन भइरहँदा दर्शकको उपस्थिति भने पुस-माघको खडेरी जस्तै सुस्त देखिन्छ।
यही माहौलमा आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लालीबजार’को पहिलो गीत रिलिज गरिएको छ। पत्रकार तथा चलचित्रका विद्यार्थीहरूलाई साक्षी राखेर निर्माण टिमले सिभिल मलस्थित क्यूएफएक्स सिनेमासमा फिल्ममा समावेश ‘मायालाई के दिऊँ म बैना’ बोलको गीत सार्वजनिक गरेको हो।
दिउँसो साँढे एक बजेका लागि तय गरिएको गीत सार्वजनिक कार्यक्रम सुरु हुँदा ३ बजिसकेको थियो। अभिनेत्री स्वस्तिमा खड्काको ढिलाइ र प्राविधिक कारणले निर्धारित समयभन्दा डेढ घण्टा ढिलो कार्यक्रम सुरु भएपछि केही सञ्चारकर्मीहरू आक्रोशित देखिन्थे।
तर, जब कार्यक्रम सुरु भयो, कार्यक्रमको माहोल बदलियो। हलको पर्दामा गीत बज्न थालेपछि स्वस्तिमा खड्का निकै जोसका साथ नाच्दै स्टेजमा प्रवेश गरिन्। पर्दामा जति जोसका साथ उनी देखिएकी थिइन्, स्टेजमा पनि उस्तै ऊर्जा प्रस्तुत गरिन्। त्यसैले होला, कार्यक्रमअघि गनगन गरिरहेका पत्रकार तथा पाहुनाहरू बाहिरिँदा स्वस्तिमाको जोसको तारिफ गर्दै निस्किए।
स्वस्तिमा कार्यक्रममा उपस्थित भएपछि पछिल्लो समयका चर्चित गायक खेम सेन्चुरी र गायिका दीपिका बयाम्बु मगर ओझेलमा परे। उनीहरूको भन्दा बढी चर्चा स्वस्तिमाको जोसको भयो। नहोस् पनि कसरी, डान्सरको भन्दा राम्रो नाच, उनको कम्मर मर्काइमा देखियो।
खेम सेन्चुरीकै संगीत रहेको गीतलाई रमेश बिजीले लेखेका हुन्। दर्शकमाझ खेम सेन्चुरी चर्चामा रहे पनि दीपिका ओझेलमा परेकी गायिका हुन्। किनभने उनका यसअघि ‘कश्मीरे पछ्यौरी दार्जिलिङको रेल’ गीत दर्शकमाझ चर्चामा थिए। तर उनलाई भन्दा बढी दर्शकले खेमलाई नोटिस गरे। पहिलो पटक फिल्मको गीतमा गाउँदा पाउँदा दीपिका निकै हर्षित देखिन्थिन। उनी निर्माण टिमलाई धन्यवाद दिइन्।
उनको ‘मायालाई के दिऊँ म बैना’ बोलको गीतमा स्वस्तिमाका अलवा रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ,विशाल देवकोटाले नाचेका छन्। यसै फिल्मबाट विशालको डेब्यु फिल्म हो। उनी यस गीतमा नाचेको भन्दा पनि अभिनय गरेका छन्। प्रदीप लामाको कोरियोग्राफीको पनि चर्चा रहेको थियो।
यम थापाको कथा तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारी लगायतको अभिनय छ।
यस फिल्मको पटकथा र संवाद निर्देशक थापाले नै गरेका छन्। यस फिल्ममा निर्देशक प्रदीप भट्टराईले निर्माणमा जुटेका छन्। उनी कार्यकारी निर्माता रहेका यस फिल्मका कलाकार रवीन्द्रसिंह र म्याक्स दीपेश खत्रीले लगानी गरेका हुन्।
फागुन २९, २०८२ शुक्रबार १८:३३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।