कसले खुवाउला बालेनलाई सांसदको शपथ !

कसले खुवाउला बालेनलाई सांसदको शपथ !

काठमाडौं : फागुन २१ गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेसँगै संघीय संसद् सचिवालय प्रतिनिधिसभा बैठक बोलाउने तयारीमा छ। प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान संविधानको धारा ९३ मा उल्लेख छ। 

अन्तिम मत परिणामसहितको प्रतिवेदन चैत्रको पहिलो साता राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी छ। अधिवेशन आह्वान भएपछि संसद् सचिवालयले नवनिर्वाचित सबै सदस्यलाई शपथका लागि काठमाडौँ आउन १० दिनको समय दिएर गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्छ। यस अवधिमा पहिलो बैठक सञ्चालनको लागि ज्येष्ठ सदस्यको चयन र राष्ट्रपतिबाट शपथ ख्वाउनेसम्मको काम हुन्छ।

ज्येष्ठ सदस्यको भूमिका र शपथ प्रक्रिया

सदनको नेतृत्व गर्ने सभामुख वा उपसभामुख नभएको अवस्थामा संविधानको धारा ९१ मा व्यवस्था भएबमोजिम प्रतिनिधिसभामा निर्वाचित सदस्यमध्ये उमेरका आधारमा सबभन्दा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन्। प्रतिनिधिसभाको बैठक बस्नु पूर्व ज्येष्ठ सदस्यले अन्य सबै नवनिर्वाचित सांसदहरूलाई शपथ गराउँछन्। संसद् सदस्यको रूपमा शपथ नखाई बैठकमा बस्न पाइँदैन।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अन्तिम मत परिणाम सार्वजनिक गरेर निर्वाचन आयोगले सचिवालयलाई लिखित रूपमा जानकारी गराएपछि बढी उमेर भएका ३ जनासम्मको लिस्ट तयार पार्छ। प्राप्त नागरिकतालगायतको कागजातहरूको आधारमा ज्येष्ठ सदस्य को हुने भन्ने निर्क्योल गर्छ र राष्ट्रपतिबाट शपथ गराउँछ।

को हुन् त ज्येष्ठ सदस्यका दाबेदार?

अहिले निर्वाचित सदस्यहरूमध्ये प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार भई निर्वाचित महावीर पुन र नेपाली कांग्रेसका टेक बहादुर गुरुङ दुवैजना ७१ वर्षका हुन् भने नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचित पुष्पकमल दाहाल ७० वर्षका हुन्।

निर्वाचन आयोगमा उल्लेख गरिएको विवरण अनुसार पुनको जन्म मिति २०११ साल माघ ५ गते (म्याग्दी) हो। गुरुङको जन्म मिति २०११ साल मंसिर ११ गते (मनाङ) हो।

यदि नेपाली कांग्रेसको समानुपातिक सूचीमा खस आर्य क्लस्टरतर्फ पहिलो नम्बरमा रहेका अर्जुननरसिंह केसी सांसद चयन भएमा ज्येष्ठ सदस्यका रूपमा बैठकको अध्यक्षता गर्ने अवसर उनले पाउने छन्। उनी ७५ वर्षका हुन्।

पहिलो बैठकको कार्यसूची

नयाँ सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यले नै सभामुखको भूमिकामा रहेर संसद् बैठक सञ्चालन गर्नेछन्। संसद्को पहिलो बैठकले सभामुख र उपसभामुखको निर्वाचन मिति घोषणा गर्नेछ। 

प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुख चयन गर्नुपर्ने प्रावधान संविधानको धारा ९१ को उपधारा १ मा उल्लेख छ। पहिलो बैठकमा ज्येष्ठ सदस्यले आफ्नो अनुपस्थितिमा बैठक सञ्चालन गर्ने अन्य ३ जनाको नाम समेत प्रस्ताव गर्नेछन्।

त्यस्तै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा स्वीकृत गरी २०८२ पुस ४ गते जारी गरिएको: मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ पहिलो बैठकमा प्रस्तुत गरिनेछ। 

राष्ट्रपतिद्वारा अधिवेशन आह्वान भई बस्ने संसद्को पहिलो बैठकमा प्रतिनिधि दलहरूको तर्फबाट शुभकामना मन्तव्य दिने कार्यसूची पनि रहनेछ। संसद् कसरी चलाउने भन्ने कुरा 'प्रतिनिधिसभा नियमावली' ले तय गर्छ। नियमावलीमा सांसदहरूको मर्यादा, शून्य समय, विशेष समय र प्रश्नोत्तरका नियमहरू के हुने भन्ने सबै उल्लेख गरिएको हुन्छ।

फागुन २९, २०८२ शुक्रबार १८:१३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।