ज्योति विकास बैंकको वित्तीय प्रतिवेदन पारित
काठमाडौं : ज्योति विकास बैंकको बिहीबार काठमाडौंमा सम्पन्न १८औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनसहितका प्रस्तावहरू पारित गरेको छ।
बैंकका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न सभाले बैंकको नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्नुका साथै सहायक कम्पनी ज्योति क्यापिटलको वित्तीय विवरणसहितको एकीकृत प्रतिवेदन पनि पारित गर्यो।
साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गरिएको छ। सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंकको प्रगति र भावी योजनाबारे जानकारी गराएका थिए।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको बैंकले 'न्यानो नानी' कार्यक्रममार्फत ७० वटा बेबी वार्मर वितरण गरी हालसम्म २ हजार ५ सय ९० भन्दा बढी नवजात शिशुको जीवन रक्षामा योगदान पुर्याएको जनाएको छ। बैंकले यस आर्थिक वर्षमा राज्यलाई ४१ करोड रुपैयाँ कर योगदान गरेको जानकारी समेत दिएको छ।
हाल ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटिएममार्फत देशभर बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
फागुन २९, २०८२ शुक्रबार १५:५४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।