बालेन शपथ कुरेर बस्दा ‘एक्सन’मा सुधन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरू शपथग्रहणको पर्खाइमा रहँदा गोरखा-१ बाट निर्वाचित सांसद सुधन गुरुङ भने सक्रिय देखिएका छन्।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीका दाबेदार बालेन्द्र शाह (बालेन) लगायतका नेताहरू सरकार निर्माणको आन्तरिक रणनीति र पार्टी विधान संशोधनको गृहकार्यमा व्यस्त रहेका बेला गुरुङले भने सरकारी कार्यालयहरूमा पुगेर निर्देशन दिन थालिसके।
गोरखा-१ बाट निर्वाचित भएलगत्तै गुरुङ नेपाल टेलिकमको कार्यालय पुगेर सेवा सुधारका लागि निर्देशन दिएका छन्।
उनले प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्सबाट पैसा काटिने समस्या समाधान गर्न माग गर्दै, ‘प्याकेज सकिँदा नोटिफिकेसन दिएर इन्टरनेट बन्द गर्नुहोस्, तर सेवाग्राहीलाई थाहै नदिई पैसा काट्ने काम नगर्नुहोस्’ भन्दै ध्यानाकर्षण गराए।
टेलिकमका कार्यवाहक महाप्रबन्धक रीना डंगोलसमक्ष उनले गोरखाका दुर्गम क्षेत्रमा टेलिकमको पहुँच बढाउन र तत्कालै इन्टरनेट तथा फोन सेवाको व्यवस्था गर्न ज्ञापनपत्र समेत बुझाएका छन्।
त्यस्तै, उनी निर्माणाधीन संसद भवनको निरीक्षणमा पनि पुगे। मन्त्री कुमार इङनामसँग उनले निर्माण कार्यको प्रगतिबारे जानकारी लिए।
सुधन गुरुङको यो सक्रियता नयाँ भने होइन। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनयता उनी सरकारी कार्यालय र मन्त्रालयहरूमा अनधिकृत रूपमा प्रवेश गरी निर्देशन दिने र दबाब दिने गतिविधिमा संलग्न रहँदै आएका छन्।
जेनजी आन्दोलनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा पुगेर उनले कर्मचारी र सुरक्षा संयन्त्रलाई कडा निर्देशन दिएका थिए।
उनले कहाँ-कहाँ मानिस अड्किएका छन्, त्यसको पहिचान गरेर तत्काल सेल्टर र रासनपानीको व्यवस्था गर्न राज्यलाई दबाब दिएका थिए। उनले उद्धार कार्यमा एम्बुलेन्सलाई पहिलो प्राथमिकतामा राख्न पनि जोडदार माग गरेका थिए।
जेनजी आन्दोलनपछि उनी प्रधानमन्त्री कार्यालयसम्म पुगेका थिए। उनले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आन्दोलनकारीमाथि लागेका झुटा मुद्दा खारेजी र घाइतेहरूको उपचारको विषयमा दबाब दिएका थिए।
यसका अलावा उनले जेनजी सम्झौतालाई राष्ट्रपतिबाटै हस्ताक्षर गराउनुपर्ने लगायतका माग राख्दै गृह मन्त्रालयलगायतका निकायमा निरन्तर दबाब सिर्जना गर्दै आएका थिए।
रास्वपा अहिले विधान संशोधन गरेर संसदीय दलको नेता चुन्ने र सरकार बनाउने रणनीतिमा केन्द्रित छ। चुनावमा १८२ सिटसहित ठूलो दल बनेको रास्वपाले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्नुपर्ने अवस्था छ।
एकतर्फ दलका शीर्ष नेताहरू सिंहदरबारको समीकरणमा व्यस्त छन् भने अर्कोतर्फ सांसद सुधन गुरुङले आफ्नो उही पुरानै शैलीमा ‘एक्सन’ थालिसकेका छन्।
फागुन २९, २०८२ शुक्रबार १५:०२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।