कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले दिए राजीनामा

कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले दिए राजीनामा

काठमाडौं : नेपालको प्रमुख राष्ट्रिय दैनिकमध्येको एक कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनले शुक्रबार बिहान बसेको पत्रिकाको नियमित सम्पादकीय बैठकमा सहकर्मीहरूलाई आफूले राजीनामा दिएको औपचारिक जानकारी गराएका हुन्।

सम्पादकीय टोलीसँगको बिहानी बैठकमा चौहानले कान्तिपुरसँगको आफ्नो यात्रा टुङ्गिएको बताएका थिए। उनले आफ्नो कार्यकालमा सहयोग पुर्याउने सम्पूर्ण कान्तिपुरकर्मी र व्यवस्थापन पक्षलाई धन्यवाद समेत दिएका छन्।

झण्डै दुई वर्षअघि सुधीर शर्माले राजीनामा दिएपछि चौहानले कान्तिपुरको सम्पादकीय नेतृत्व सम्हालेका थिए।

कान्तिपुरमा आउनुअघि उनी नयाँ पत्रिका दैनिकको सम्पादकका रूपमा कार्यरत थिए। राजनीतिक विश्लेषण र समसामयिक विषयमा उनी दख्खल मानिन्छन्।

चौहानको राजीनामाको ठोस कारण भने अझै खुलिसकेको छैन। व्यवस्थापन पक्षले उनको राजीनामा स्वीकृत गरिसकेको वा नयाँ नेतृत्वबारे के निर्णय गरेको छ भन्नेबारे आधिकारिक जानकारी आउन बाँकी छ।

फागुन २९, २०८२ शुक्रबार १३:२३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।