‘हामीले सर्वोच्चमा आगजनी गरेका छौँ’ भन्दै जेनजी आन्दोलनमा भिडियो बनाउनेसहित पाँच जनाविरुद्ध मुद्दा

‘हामीले सर्वोच्चमा आगजनी गरेका छौँ’ भन्दै जेनजी आन्दोलनमा भिडियो बनाउनेसहित पाँच जनाविरुद्ध मुद्दा

काठमाडौं : गत भदौ २४ गते सर्वोच्च अदालत परिसरमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्न रहेको अभियोगमा ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा आपराधिक उपद्रव मुद्दा दायर भएको छ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (१) विपरीत र उपदफा (२) को खण्ड (क) बमोजिमको कसुर गरेको भन्दै उनीहरूविरुद्ध अभियोगपत्र दायर गरेको हो।

जेनजी प्रदर्शनमा सर्वोच्च अदालतको मुख्य भवन र छापाखाना भवनमा तोडफोड तथा आगजनी गरेका थिए।

सरकारी वकिलको अभियोगपत्रअनुसार, उक्त घटनामा सर्वोच्च अदालतका भौतिक संरचना, इजलासहरू, चालु मुद्दाका मिसिलहरू, सूचना प्रविधि प्रणालीलगायतका सम्पत्ति पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

घटनामा प्रधानन्यायाधीशको सुरक्षार्थ खटिएको नेपाली सेनाको पछुवा गाडी (बा २ झ १९६६) र जिल्ला न्यायाधीश सूर्यप्रसाद भण्डारीले प्रयोग गर्दै आएको निजी स्कुटर (ग ७ प २८४३) पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

यसबाहेक सरकारी र निजी सवारी साधन, प्रिन्टिङ र बाइन्डिङ मेसिन, र अदालतको सीसीटीभी निगरानी प्रणालीमा समेत क्षति पुगेको छ।

सरकारी वकिलले उक्त घटनाबाट १ अर्ब २३ करोड ६२ लाख ३८ हजार ५२ रुपैयाँ बराबरको क्षति भएको दाबी गर्दै सोही बराबरको बिगो मागदाबी गरेको छ।

प्रतिवादीहरूको संलग्नता र भूमिका
अभियोगपत्रमा आरोपितहरूमा ज्योति थापा घताने, सुशिल श्रेष्ठ (ब्राउन), एलेक्स भन्न्ने कुमार पराजुली, सम्राट भन्न्ने राजु परियार र विनोद कुमार थापा मगर रहेका छन्।

ज्योति थापा घतानेले सामाजिक सञ्जालमा ‘आज हामी सर्वोच्च अदालतभित्र छौँ, हामीले आगजनी गरेका छौँ, तानाशाही सरकार हेर, हामीलाई धेरै दमन गरिस्’ भन्दै भिडियो पोस्ट गरेको र प्रदर्शनकारीलाई उक्साएको आरोप छ।

उनले प्रहरी समक्षको बयानमा आफू आन्दोलनमा सहभागी भई सर्वोच्च अदालतको भवनभित्र प्रवेश गरेको स्वीकार गरेकी छन्।

सुशिल श्रेष्ठ (ब्राउन) र एलेक्स भन्ने कुमार पराजुलीले सर्वोच्च अदालतको परिसरमा प्रवेश गरी प्रहरीको ब्यारेकबाट हतियार लुटपाट गरेको र सो हतियार प्रदर्शनका क्रममा फायर पोजिसनमा लिएको दाबी अभियोगपत्रमा छ।

उनीहरूले आफूहरूले तोडफोड र आगजनी नगरे पनि प्रदर्शनकारीलाई उत्तेजित बनाउन हतियार प्रदर्शन गरेको स्वीकारेका छन्।

सम्राट भन्ने राजु परियारमाथि सर्वोच्च अदालतको मुख्य गेटमा हतियार प्रदर्शन गरी भिडलाई उत्तेजित र आतंकित बनाएको तथा आगजनी र तोडफोडको घटनामा प्रत्यक्ष संलग्न रहेको आरोप छ।

विनोद कुमार थापा मगरले सर्वोच्च अदालतभित्र प्रवेश गरी झ्यालबाट कागजातहरू बाहिर फालेको र तोडफोडमा संलग्न भएको देखिएको छ।

त्यस्तै, प्रतिवादीमध्येका विष्णु ढुंगेलको हकमा भने हालसम्मको अनुसन्धानबाट कसुरमा संलग्न भएको पर्याप्त प्रमाण नदेखिएकाले मुद्दा नचलाउने निर्णय गरिएको छ।

कानुनी कारबाहीको माग
सरकारी वकिलको कार्यालयले प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (३) को खण्ड (ख) बमोजिम हदैसम्मको सजाय हुनुपर्ने मागदाबी लिएको छ।

उक्त दफामा सरकारी वा सार्वजनिक महत्त्वको भवनमा आगजनी वा विस्फोटन गराएमा पाँच वर्षदेखि १२ वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना हुने व्यवस्था छ।

अभियोगपत्रमा भनिएको छ, ‘प्रतिवादीहरूले आन्दोलनको मौका छोपी, पूर्व योजनाअनुसार सर्वोच्च अदालतको गेट तोडफोड गरी अनधिकृत रूपमा प्रवेश गरेर भौतिक संरचना, सरकारी कागजात, सवारी साधनमा आगजनी गरी राष्ट्रिय सम्पत्तिमा ठूलो क्षति पुर्याएका छन्।’

फागुन २९, २०८२ शुक्रबार १२:५३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।