प्रचारप्रसारविना नै हलमा लाग्यो यौनकर्मीको कथा बोकेको ‘लालिमा’

प्रचारप्रसारविना नै हलमा लाग्यो यौनकर्मीको कथा बोकेको ‘लालिमा’

काठमाडौं : अभिनेत्री उषा रजक अभिनित फिल्म ‘लालिमा’ आजबाट प्रदर्शनमा आएको छ।

तर, कुनै औपचारिक घोषणा, पत्रकार सम्मेलन वा सामाजिक सञ्जालमा प्रचारप्रसार नगरी फिल्म गुपचुप रूपमा हलमा लागेको हो, जसले गर्दा अधिकांश दर्शक यसको रिलिज बारे बेखबर छन्।

फिल्मको यो अप्रत्याशित प्रदर्शन शैलीले यसले पनि अभिनेता राजेश हमालको फिल्म ‘प्रवासी जीवन’कै नियति भोग्ने हो कि भन्ने शंका उब्जिएको छ।

‘प्रवासी जीवन’ पनि यसरी नै प्रचारविना हलमा लागेको थियो र कहिले लाग्यो, कहिले उत्रियो भन्ने दर्शकले पत्तै पाएनन्। ‘लालिमा’को निर्माण पक्षले दर्शकलाई फिल्मबारे जानकारी दिने कुनै माध्यम नअपनाउँदा यसको भविष्य पनि चुनौतीपूर्ण देखिएको छ।

वास्तविक यौनकर्मीहरूको जीवनमा आधारित कथा, उनीहरूले भोग्ने पीडा र मानसिक द्वन्द्वलाई विषयवस्तु बनाएको यो फिल्ममा उषा रजक मुख्य भूमिकामा छिन्।

फिल्ममा उनीसँगै जीवन भट्टराई, शिशिर वाङ्देल, रोश्नी कार्की, सुषमा निरौला, घनश्याम जोशी र सबिन कट्टेलको पनि अभिनय देख्न सकिन्छ।

प्रचार शून्य भए पनि फिल्मले प्रदर्शनको पहिलो दिन देशभर करिब ६० शो पाएको छ। गत फागुन २१ गते चलचित्र निर्माता संघको चुनावपछि प्रदर्शनमा आउने यो पहिलो नयाँ फिल्म हो।

फेथ आस्थाको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। फिल्मलाई नेसनल सिने ग्रुप नेपालले वितरण गरेको हो।

यतिबेला हलमा ‘लालिमा’ बाहेक ‘रमिताको पिरती’, ‘कुमारी’, ‘आ बाट आमा’ लगायत नेपाली तथा विदेशी फिल्महरू पनि प्रदर्शनरत छन्।

फागुन २९, २०८२ शुक्रबार १०:५७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।