‘मम्मी! म दुई घण्टामा आइहाल्छु...’ : ट्युसन गएकी इनिशाको त्यो बिहान, जुन कहिल्यै साँझमा बदलिएन

‘मम्मी! म दुई घण्टामा आइहाल्छु...’ : ट्युसन गएकी इनिशाको त्यो बिहान, जुन कहिल्यै साँझमा बदलिएन

काठमाडौं : फागुन २३ गतेको बिहान। सुर्खेतको वीरेन्द्रनगरस्थित एउटा घरमा बिहानको नित्यकर्म चल्दै थियो। १६ वर्षीया इनिशा सधैँ झैँ ट्युसन पढ्न जाने तयारीमा थिइन्। घरबाट निस्किने बेला उनले आमालाई फर्केर भनिन्- ‘मम्मी, खाना बनाएर राख्नु, म दुई घन्टामा आइहाल्छु।’

आमाले पनि ‘हुन्छ’ भनिन्। छोरी दुई घण्टामा आउँछे, तातो खाना खानुपर्छ भनेर भान्साको सुरसारमा लागिन्। तर, आमाले सपनामा पनि सोचेकी थिइनन्- आफ्नी प्यारी छोरीको मुखबाट निस्किएका ती नै अन्तिम वाक्य हुनेछन्। ट्युसन पढ्न भनेर निस्किएकी इनिशा अब कहिल्यै त्यो घरभित्र पस्ने छैनन्।

​​गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका-१ मा बस्दै आएकी इनिशा, उषा बालवाटिका स्कुलमा कक्षा ११ मा पढ्थिन्। तर, त्यो बिहान उनी ट्युसन सेन्टरको साटो वीरेन्द्रनगर-४ स्थित सहिद पार्कभित्रको जनजागरण सामुदायिक वनमा पुगिन्। त्यहीँ उनको बलात्कारपछि विभत्स हत्या भयो।

घटनाले परिवार विक्षिप्त छ, उनीहरू न्यायको भिख मागिरहेका छन्। प्रहरी अनुसन्धानमा जुटेको छ। तर, घटनाको प्रकृति र बाहिर आएका विवरणहरू हेर्दा यस्ता धेरै प्रश्नहरू उब्जिएका छन्, जसको चित्तबुझ्दो जवाफ अझै कसैले पाउन सकेको छैन।

‘तेरो भान्जीलाई जबर्जस्ती गरेर मार्दिए’
घटना भएको दिन इनिशाका मामा शिव सुनार बर्दियाबाट बबइतर्फ आउँदै थिए। बाटोमै उनको मोबाइलको घण्टी बज्यो। फोन बुवाको थियो।

बुवाको आवाज काँपिरहेको थियो। ‘तेरो भान्जीलाई जबर्जस्ती गरेर मार्दिए,’ बुवाको यति कुरा सुन्नासाथ शिवको होसहवास उड्यो। उनी झसङ्ग भए।

‘हिजो भर्खरै मेरै आँखा अगाडि खेलेकी बच्चीलाई कसले त्यस्तो गर्यो? मैले त सुरूमा पत्याउनै सकिनँ’, मामा शिवले उकेरासँग भने। हतारहतार घर पुग्दा दिदी (इनिशाकी आमा) छाती पिटीपिटी रोइरहेकी थिइन्।

त्यो बिहान करिब १०-११ बजेतिर इनिशाकी आमाको मोबाइलमा अपरिचित नम्बरबाट फोन आएको थियो। उताबाट भनियो, ‘तपाईंको छोरी बेहोस अवस्थामा सहिद पार्कको जंगलमा फेला परेकी छन्, छिटो आउनुस्।’

‘मेरी छोरी बेहोस भई छ, गएर ल्याउँछु’ भन्दै आमा आत्तिँदै र दौडिँदै सहिद पार्क पुगिन्। तर त्यहाँको दृश्यले उनको मुटुको ढुकढुकी नै रोकियो।

पार्कको गेटमा प्रहरीको भ्यान उभिएको थियो। छोरीलाई जंगलको माथिबाट तलतिर ल्याइँदै गरेको देख्नेबित्तिकै आमा त्यहीँ ढलिन्। उनको होस हरायो। छोरीको अवस्था हेर्न गएकी आमालाई होसमा ल्याउन उल्टै अस्पताल नै लैजानुपर्ने अवस्था आयो।

इनिशालाई तत्कालै प्रदेश अस्पताल सुर्खेत पुर्याइयो। तर ढिला भइसकेको थियो, चिकित्सकहरूले उनलाई मृत घोषणा गरिदिए। फागुन २५ गते विक्षिप्त आफन्तले न्यायको गुहार माग्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए।

जब स्थानीय बासिन्दाहरू घटनास्थल पुगेका थिए, त्यहाँको दृश्यले जो कोहीको आङ सिरिङ्ग हुन्थ्यो। जमिनमा जताततै रगतै रगत लतपतिएको थियो। एक ठाउँमा इनिशाको जुत्ता फुकालिएको थियो भने अर्को ठाउँमा चुराहरू फुटेर छरिएका थिए।

शव राखिएको ठाउँभन्दा अलि अगाडि भिरालो जमिनमा पनि रगतका थोपाहरू प्रस्टै देखिन्थे। घटनास्थलमा पुगेकी एक स्थानीय महिलाका अनुसार इनिशाको योनीमा यति गम्भीर चोट लागेको थियो कि, दिसा र पिसाब गर्ने ठाउँ च्यातिएर एकाकार भएको थियो।

मामाका प्रश्न : दुई जना गएको ठाउँमा चार जना कसरी?
घटनाका विवरण थाहा पाइसकेपछि मामा शिव सुनार एउटै निष्कर्षमा पुगेका छन्- यो सामूहिक बलात्कार नै हो। ‘एउटा मात्रै मान्छेले यति क्रूरतापूर्वक यस्तो हर्कत गर्नै सक्दैन’, उनी ठोकुका गरेर भन्छन्।

उनको मनमा एउटा गम्भीर प्रश्नले डेरा जमाएको छ। स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, बिहान एक जना केटा र इनिशा हाँस्दै जंगलतर्फ उक्लिएका थिए। त्यसको केही समयपछि दुई जना केटाहरू स्कुटीमा अत्तालिँदै माथितिर दौडिएर गएको पनि स्थानीयले देखेका थिए। तर, जब प्रहरी घटनास्थल पुग्यो, त्यहाँ चार जना केटाहरू फेला परे।

‘दुई जना (एक केटा र इनिशा) मात्रै गएको ठाउँमा चार जना केटाहरू कसरी पुगे? उसै समेत गरेर चार जना कसरी त्यहाँ जम्मा भए? यो घटना एकदमै रहस्यमय छ। हामीले सोच्नै नसक्ने गरी घटना घटाइएको छ’, शिव प्रश्न गर्छन्। उनको यो प्रश्नको स्पष्ट जवाफ अहिलेसम्म न प्रहरीले दिएको छ, न अरु कसैले।

वनपाले रामबहादुर नेपालीको भूमिका पनि यो घटना बाहिर ल्याउन महत्त्वपूर्ण रह्यो। जंगलबाट आत्तिएर तल झरेको एउटा केटाले सुरूमा रामबहादुरका छोरालाई घटनाबारे बताएको थियो।

‘साथी बेहोस भएर ढलेको छ’ भनेर ती केटाले भनेपछि रामबहादुरका छोराले आफ्ना बुवालाई खबर गरे। त्यसपछि रामबहादुरले सहिद पार्कमा रहेको प्रहरीलाई फोन गरेर बोलाएका थिए। यसरी सबै मिलेर घटनास्थलमा पुग्दा घटनाको वीभत्स रूप बाहिर आएको थियो।

स्कुलमाथि परिवारको गम्भीर आरोप
मामा शिवको आक्रोश घटना गराउने आरोपितहरूमाथि त छँदैछ, इनिशा पढ्ने उषा बालवाटिका स्कुलमाथि पनि उत्तिकै छ।

इनिशाको कुनै केटासँग प्रेम सम्बन्ध छ भन्ने कुरा स्कुलका शिक्षक-शिक्षिका र त्यहाँका धेरैलाई पहिल्यै थाहा रहेछ। तर, अचम्मको कुरा- यो कुरा परिवारलाई घटनापछि मात्रै थाहा भयो।

‘उनीहरू रिलेसनमा थिए भन्ने कुरा स्कुलमा सबैलाई थाहा रहेछ। तर स्कुलले हामीलाई कहिल्यै जानकारी दिएन। बरु उल्टै केटाको पक्षलाई चाहिँ फोन गरेर जानकारी गराइएको रहेछ,’ मामा गुनासो गर्छन्, ‘यदि हामीलाई बेलैमा थाहा दिएको भए हामी भान्जीलाई सम्झाउँथ्यौं होला नि! यसमा स्कुलले ठूलो लापरवाही गर्यो।’

परिवारको नजरमा इनिशा एकदमै अनुशासित थिइन्। ‘हामीलाई देख्नेबित्तिकै डराउने, बाटोमा हिँड्दा पनि एकदमै शालिन तरिकाले हिँड्ने बच्चा यस्तो कुरामा फसी भनेर त म अझै विश्वास गर्न सकिरहेको छैन’, मामा भन्छन्।

आरोपी ‘नाबालिग’ भन्दैमा छाड्न मिल्छ र?
प्रहरीले पक्राउ परेका चारै जना आरोपितहरू १८ वर्ष मुनिका (नाबालिग) भएको बताइरहेको छ। तर, परिवारलाई यो कुरा रत्तीभर विश्वास छैन।

मामा शिव शंका गर्छन्, ‘तपाईंहरूले उनीहरूलाई आफ्नै आँखाले हेर्नुभयो भने कुनै हालतमा नाबालिक जस्तो मान्नुहुन्न। उमेर घटाएर डकुमेन्ट बनाएको हो कि भन्ने गहिरो शंका छ।’

उनी थप्छन्, ‘नाबालिग होस् या जोसुकै होस्, यति क्रूर तरिकाले बलात्कार र हत्या गर्न सक्नेलाई नाबालिग भनेर कानुनले छाड्न मिल्दैन। १६ वर्षकै उमेरमा यस्तो जघन्य आपराधिक काम गर्न सक्छ भने त्यो के बच्चा हो र? त्यस्तोलाई बच्चा भनेर छोडिदिने कुरा हामीलाई मान्य छैन, त्यो तरिका ठीक भएन।’

मामालाई कतैबाट राजनीतिक दबाब आएर मुद्दा कमजोर बनाइन्छ कि भन्ने डर पनि छ।

‘अहिलेसम्म पीडित पक्षमाथि प्रत्यक्ष त्यस्तो दबाब त आएको छैन। तर भित्री रूपमा खेलोमतो भएको छ भने सबैले सचेत गराउनुपर्छ’, उनी हामीसँग पनि अपिल गर्छन्।

घटना भएको ६ दिन बितिसक्दा पनि प्रहरीले परिवारलाई पर्याप्त जानकारी नदिएकोमा उनको चित्त दुखाइ छ।

‘हामीलाई कल रेकर्डमा के आयो, अनुसन्धान कहाँ पुग्यो भनेर प्रहरीले केही सूचना दिएको छैन। धेरै ढिला भइसक्यो,’ उनी भन्छन्,  ‘म त अहिले एकदमै पीडामा छु। आज मैले मेरी भान्जी गुमाएँ। अब ऊ कहिल्यै फर्केर आउँदिन। मान्छे त पाइँदैन- तर अब हामीले पाउने भनेको न्याय मात्रै हो, र त्यो हामीले पाउनैपर्छ।’

प्रहरी भन्छ- ‘सामूहिक बलात्कार देखिँदैन’
यस घटनालाई लिएर सुर्खेत प्रहरीका प्रवक्ता एवं डिएसपी मोनजंग बुढाथापाको आफ्नै तर्क छ। उनका अनुसार फागुन २३ गते बिहान करिब साढे ६ बजेतिर घटना भएको हो भने प्रहरीलाई बिहान साढे ९ देखि पौने १० को बीचमा मात्र खबर पुगेको थियो।

‘इनिशा र एउटै कक्षामा पढ्ने उनको १७ वर्षीय साथी (केटा) सँगै जंगल गएका थिए। त्यहाँ उनीहरूबीच शारीरिक सम्बन्ध भयो। तर त्यही क्रममा किशोरीको तल्लो अंग (जेनिटल एरिया) मा गम्भीर चोट लाग्यो र अत्यधिक रक्तस्राव भयो। रगत धेरै बगेपछि केटा आत्तियो र सहयोगका लागि आफ्ना अरु साथीहरूलाई बोलायो। ती साथीहरू पुगेपछि उनीहरूले नै स्थानीयलाई खबर गरे अनि प्रहरीलाई बोलाए’, प्रवक्ता बुढाथापाले भने।

प्रहरी घटनास्थल पुग्दा इनिशाको लगभग मृत्यु भइसकेको थियो।

‘करिब एक-दुई घन्टा अचेत अवस्थामा जंगलमै रहँदा र समयमै उपचार नपाउँदा अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिन्छ’, प्रहरीको निष्कर्ष छ।

प्रहरी पुग्दा एक जना केटा घटनास्थलमै थियो, जसलाई तत्कालै नियन्त्रणमा लिइयो। बाँकी तीन जनालाई भोलिपल्ट पक्राउ गरियो।

घटनास्थलमा भेटिएका अरु तीन जना केटाका विषयमा प्रहरीको भनाइ छ, ‘ती केटाहरू पछि मात्रै आएका हुन्। साथीले आत्तिएर बोलाएपछि उनीहरू पुगेका हुन्। त्यसैले हाम्रो अहिलेसम्मको अनुसन्धानमा यो सामूहिक बलात्कार जस्तो देखिँदैन।’

यद्यपि, प्रहरीले यो निष्कर्ष प्रारम्भिक मात्रै भएको र अनुसन्धान अझै जारी रहेको स्वीकारेको छ।

‘बयानको प्रक्रिया चलिरहेकै छ। पोस्टमार्टम र अन्य डकुमेन्टले जे बोल्छ, अनुसन्धान त्यही दिशामा जान्छ’, डिएसपी बुढाथापाले भने।

प्रहरीले चारै जनाको उमेर १८ वर्ष नपुगेको दाबी गरेको छ। साथै, यो घटनामा कुनै जातीय विभेदको जोडिएको भन्ने कुरालाई पनि प्रहरीले नकारेको छ।

‘जातीय विभेदको कुरा न आरोपितले स्वीकार गरेका छन्, न पीडित परिवारले नै उठाएका छन्’, प्रहरी भन्छ।

मंगलबार वीरेन्द्रनगरबाट पक्राउ परेका चारै जनाविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा अदालतमा दर्ता गरेर कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

किन आयो सीआईबी?
यो घटनाले स्थानीय स्तरमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै चर्चा पायो। यही संवेदनशीलतालाई बुझेर केन्द्रीय अनुसन्धान ब्युरोको टोली सुर्खेत पुगेको छ।

‘हामीले हाम्रो तर्फबाट अनुसन्धान क्लियर गरिसकेका थियौँ। तर भोलि यो केसमा कसैले शंका नगरोस्, अनुसन्धानमा कुनै खोट नदेखियोस् भनेर सीआईबीको टोली बोलाइएको हो। अब पोलिग्राफ, कल डिटेल रेकर्ड लगायतका सबै आधुनिक प्रविधि प्रयोग गरेर अनुसन्धानलाई थप सूक्ष्म र पारदर्शी बनाइनेछ’, प्रवक्ता बुढाथापाले प्रस्ट पारे।

नागरिक समाजको आक्रोश र सरकारको आश्वासन
इनिशाको मृत्युले सुर्खेतको नागरिक समाजलाई नराम्ररी झक्झकाएको छ। मानवअधिकार रक्षक सञ्जाल कर्णाली र सुर्खेत, इन्सेक, दलित गैसस महासंघ, एड्भोकेसी फोरम, आवाज लगायत डेढ दर्जनभन्दा बढी संघसंस्थाले संयुक्त विज्ञप्ति निकाल्दै दोषीमाथि कडा कारबाही र निष्पक्ष छानबिनको माग गरेका छन्।

विज्ञप्तिमा प्रस्ट भनिएको छ, ‘महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा क्षम्य हुन सक्दैन। सुरक्षित समाज निर्माणका लागि राज्यका निकाय र नागरिक समाज सबैको सक्रिय भूमिका आवश्यक छ।’

उनीहरूले प्रभावकारी सुरक्षा व्यवस्था र सत्यतथ्य छानबिन गरी परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

यता, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पनि पीडित परिवारलाई भेटेर सान्त्वना दिएका छन्।

उनले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुने आश्वासन दिँदै भनेका छन्, ‘सत्यतथ्य बाहिर ल्याउने र कानुनअनुसार कारबाही गर्ने प्रक्रिया अगाडि बढ्छ। पीडित परिवारले न्याय पाउने कुरामा प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।’

फागुन २९, २०८२ शुक्रबार १०:३४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।