लुम्बिनीमा रास्वपाको शानदार उदय : प्रत्यक्षमा २६ मध्ये २१ सिट, समानुपातिकमा कांग्रेस र एमालेको मत जोड्दा पनि पुगेन

लुम्बिनीमा रास्वपाको शानदार उदय : प्रत्यक्षमा २६ मध्ये २१ सिट, समानुपातिकमा कांग्रेस र एमालेको मत जोड्दा पनि पुगेन

बुटवल : लुम्बिनी प्रदेशको राजनीतिक नक्सामा यसपटक ठूलो उथलपुथल आएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ऐतिहासिक नतिजा निकाल्दै प्रदेशको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा उदाएको छ।

परम्परागत शक्तिका रूपमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेलाई भारी मतान्तरले पछाडि पार्दै रास्वपाले लुम्बिनीमा नयाँ राजनीतिक तरंग ल्याएको छ।

निर्वाचन आयोगको अन्तिम तथ्यांक अनुसार प्रदेशका कूल २६ निर्वाचन क्षेत्रमध्ये रास्वपा एक्लैले २१ सिटमा प्रत्यक्षतर्फ शानदार जित दर्ता गरेको छ। प्रत्यक्षतर्फको यो उभार समानुपातिक मतमा पनि स्पष्ट झल्किएको छ।

लुम्बिनीका १२ जिल्लाबाट रास्वपाले समानुपातिकतर्फ कूल ९ लाख ३३ हजार ३५२ मत प्राप्त गरेको छ, जुन अन्य दलको तुलनामा निकै फराकिलो हो। यो नतिजाले प्रदेशमा लामो समयदेखि जग बसालेको कांग्रेस र एमालेलाई ठूलो झट्का दिएको छ।

समानुपातिकतर्फ ३ लाख २८ हजार ७१९ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित हुँदा एमाले २ लाख ९६ हजार ५४२ मतसहित तेस्रो स्थानमा धकेलिएको छ।

त्यस्तै, १ लाख ५५ हजार २४२ मतका साथ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चौथो शक्ति बनेको छ। अन्य दलहरूतर्फ राप्रपाले ८० हजार ४८, जनता समाजवादी पार्टी (जसपा) ले २५ हजार ४८९, श्रम संस्कृति पार्टीले २३ हजार ५०३, जनमत पार्टीले १७ हजार १११ र राष्ट्रिय जनमोर्चाले १६ हजार ५६ मत पाएका छन्।

प्रत्यक्षतर्फ बाँकी ५ सिटमध्ये नेकपा र नेपाली कांग्रेसले २-२ सिट जित्दा एमाले जम्मा १ सिटमा खुम्चिन पुगेको छ।

कूल ३३ लाख ८६ हजार ६८० मतदाता रहेको लुम्बिनीमा ५९.९१ प्रतिशत अर्थात् २० लाख २८ हजार ९६० मत खसेको थियो, जसमध्ये एक लाखभन्दा बढी मत बदर भएर १९ लाख ५६ हजार १०४ मत मात्र सदर भएको थियो।

तराईदेखि पहाडसम्म रास्वपाको लहर
लुम्बिनीका अधिकांश जिल्लामा रास्वपाले अन्य दललाई निकै पछाडि छाडेको छ।

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा रास्वपाले २ लाख ४२ हजार ४०२ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेस र एमालेले क्रमशः ५१ हजार ९४९ र ५१ हजार ५९६ मत मात्र पाए। तीन क्षेत्र रहेको दाङमा पनि रास्वपा १ लाख ३१ हजार १ मतसहित पहिलो हुँदा कांग्रेस ४१ हजार ४४८ र एमाले ३३ हजार ३५५ मतमा सीमित भए।

कपिलवस्तुमा रास्वपाले १ लाख ५४९ मत ल्याएर वर्चस्व कायम गर्दा कांग्रेसले ४६ हजार ३९१ मत पायो। बाँके र बर्दियामा पनि रास्वपाकै दबदबा रह्यो; बाँकेमा ९० हजार २९ र बर्दियामा ८३ हजार ४४३ मत रास्वपाको पोल्टामा गयो। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा समेत ९७ हजार ९७९ मतसहित रास्वपा नै अग्रस्थानमा रह्यो।

पहाडी जिल्लाहरूमा पनि परम्परागत दलहरू रास्वपाको लहर सामु टिक्न सकेनन्। गुल्मीमा ५२ हजार ५२, पाल्पामा ५० हजार ४५२, अर्घाखाँचीमा ३९ हजार ८५ र प्युठानमा ३० हजार ७५२ मत ल्याएको रास्वपाले एमाले र कांग्रेसलाई फराकिलो अन्तरले पछि पार्दै पहिलो स्थान सुरक्षित गरेको छ।

रोल्पा र रुकुमपूर्वमा भने नेकपाको गढ सुरक्षित
लुम्बिनीका १० जिल्लामा रास्वपाको आँधीबेहरी चल्दा रोल्पा र रुकुमपूर्वले भने फरक नतिजा दिएका छन्। यी दुई जिल्लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो परम्परागत प्रभाव जोगाएको छ।

रोल्पामा नेकपाले २५ हजार ६२ मत ल्याएर पहिलो स्थान हासिल गर्दा रास्वपा १३ हजार ६३८ मतसहित दोस्रो भयो। त्यहाँ कांग्रेस र एमाले क्रमशः तेस्रो र चौथो स्थानमा रहे।

त्यसैगरी, हिमाली जिल्ला रुकुमपूर्वमा पनि नेकपा ९ हजार ४४३ मतका साथ पहिलो शक्ति बनेको छ। त्यहाँ एमाले ३ हजार ३२९, कांग्रेस २ हजार ८७० र रास्वपा १ हजार ९७० मतसहित क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहे।

लुम्बिनी प्रदेशको यो निर्वाचन परिणामले परम्परागत राजनीतिक शक्ति सन्तुलनलाई पूरै भत्काइदिएको छ। मतदाताले स्पष्ट रूपमा नयाँ विकल्प खोजेको र स्थापित दलहरूलाई आफ्नो कार्यशैलीमा गम्भीर समीक्षा गर्नुपर्ने सन्देश यो मतपरिणामले दिएको छ।

फागुन २९, २०८२ शुक्रबार ०७:५८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।