पत्रकार अरुण सिंघानिया हत्यामा तीन वर्ष जेल परेका राम विनोद रास्वपाका सांसद
काठमाडौँ : धनुषा क्षेत्र नम्बर २ बाट ४१ हजार ६ सय ३७ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित राम विनोद यादव पत्रकार अरुण सिंघानियाको हत्यामा दोषी रहेको खुलेको छ। फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका उनी सिंघानियाको हत्यामा संलग्न रहेको जिल्ला अदालत र उच्च अदालतले पुष्टि गर्दै तीन वर्ष कैद सजाय पाएको व्यक्ति रहेको खुलेको छ।
जनकपुर बम विस्फोट र सिंघानिया हत्याको मुख्य योजनाकार ठहरिँदै जन्मकैद पाएका सञ्जय साह (टकला) का मुख्य सहयोगी देखिएका उनी सिंघानिया हत्यासँगै अन्य अपराधमा समेत संलग्न रहेको पटके देखिए।
जिल्ला अदालतको फैसलामा उनी सिंघानिया हत्याको योजना र सुटर व्यवस्थापन लगायतमा संलग्न रहेको भन्दै तीन वर्ष कैद सजाय तोकेपछि जेल परेका थिए। जिल्ला अदालत धनुषाको फैसला उच्चले समेत सदर गरेको थियो।
निर्वाचन कानुन अनुसार हत्यामा २० वर्ष भन्दा कम सजाय तोकिएका व्यक्ति ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने कानुन छ। २०८२ साउन ३२ मा उनी ६ वर्षको अवधि कटेपछि उनी रास्वपामा प्रवेश गरेर धनुषा-२ बाट प्रत्यक्षतर्फबाट उम्मेदवार बने र जिते पनि।
निर्वाचन कानुन अनुसार उनी प्रतिनिधि सभाको सदस्य बन्न योग्य देखिन्छन्। तर सुशासन र विधिको शासनको वकालत गर्दै आएको रास्वपाले हत्या जस्तो जघन्य अपराधमा दोषी ठहरिएका व्यक्तिलाई कानुन बनाउने प्रतिनिधिको बनाउन उम्मेदवार बनायो। पार्टी उपाध्यक्ष डीपी अर्यालले उनलाई जिताउन विशेष भिडियो सन्देश नै बनाएर सार्वजनिक गरेका थिए।
घटनामा संलग्नहरूको बयानबाट उनी टकलाको मुख्य सहयोगी रहेको खुल्छ। २०६६ फागुन १७ गते सिंहानियाको हत्या हुँदा उनी सञ्जय साहसँग मिलेर हत्या योजना बनाउने, हतियार व्यवस्थापन गर्ने र सुटरहरुलाई सिंहानियालाई चिनाउने भूमिकामा रहेको देखिन्छ।
अदालतको बयानमा उनले अभियोग अस्वीकार गरेका छन्। तर फैसलामा पक्राउ परेकाहरूको बयानसहितका प्रमाणका आधारमा यादवको टकलासँगे नजिकको राजनिती सम्बन्ध र दाहिने हात भएको र हत्या गराउन सञ्जय साह टकलाले आदेश दिदा रामविनोद यादव समेत साथमै रहेको र हत्याको योजना बन्दाको समयमा उनी समेत उपस्थिती रहेको भन्दै दोषी ठहर गरेको थियो।
अपराधमा पटके राम विनोद
अपराधमा संलग्नहरूबारे प्रहरीमा रहेको तथ्याङ्कमा राम विनोद अरुण सिंहानियाको हत्या बाहेक अन्य अपराधमा समेत संलग्न रहेको देखिन्छ। उनी २०५४ बाट कुटपिटमा संलग्न रहेको देखिन्छ। २०५८ मा मंसिर २९ मा उनले प्रहरी कुटेको देखिन्छ।
२०६० मा गोली चलाएको घटनामा उनी सञ्जय साह टकलासँगै पक्राउ परेका थिए। २०६४ मा गोली प्रहार गरेर डकैती गरेको घटनामा उनी संलग्न देखिए। सञ्चार उद्यमी सिंहानियाको हत्याको योजनादेखि नै उनको संलग्नता खुल्यो।
डकैतीको समाचार लेखेको रिसमा गोली हानी हत्या
२०६६ साल फागुन १७ गते होलीको दिन साँझ ६ बजे जनकपुर टुडेका प्रकाशक अरुण सिंघानियालाई होलीमा रंग दल्ने बहानामा उनको निधार र टाउकोमा २ वटा गोली हानिएको थियो। त्यही गोलीको चोटबाट सिंघानियाको मृत्यु भएको शव परीक्षण प्रतिवेदनमा उल्लेख छ।
हत्यापछि तराई जनतान्त्रिक पार्टी मधेसका अर्जुन सिंह भन्ने मुकेश चौधरीले पत्रकारलाई फोन गरेर घटनाको जिम्मा लिएका थिए। तर पछि हत्याको योजनाकार देखिए सञ्जय साह टकला। उनले प्रहरीको अनुसन्धानलाई सशस्त्र विद्रोही समूहतिर मोड्न चौधरीलाई जिम्मा लिन लगाएको देखियो।
जिल्ला विकास समिति धनुषाका लेखापाल जीवनाथ चौधरीको घरमा २०६५ भदौ १३ मा चौधरीको घरमा डकैती भएको थियो। सो डकैतीबारे सिंहानिया प्रमुख रहेको जनकपुर टुडे पत्रिका र एफएममा सञ्जय साहको योजनामा घटना भएको भन्दै समाचार प्रकाशित र प्रसारण भएको थियो।
चौधरी र टकलाबीच सो क्षेत्रमा लामै समयदेखि दुस्मनी थियो। यी नै चौधरीको हत्या गर्ने योजना अनुसार टकलाले जनकपुरको रामानन्द चोकमा बम विस्फोट गराउँदा अन्य व्यक्ति मारिएपछि उनले जन्मकैद पाएका थिए। सिंहानियाको हत्याको मुख्य कारण पनि चौधरीको समाचार नै देखियो।
पत्रिका र एफएममा समेत समाचार आएपछि टकलासहितको समूह कार्यालयमै गएर तोडफोड गर्दै समाचार सच्याउन धम्की दिएको र नमानेपछि रामविनोदसहितसँग मिलेर सुटरहरु खोजेर उनको हत्या गराएको देखिन्छ।
हत्याको योजना रामा होटेलमा भएको देखिन्छ। घटनाका मुख्य सुटर मनक लामाको बयान अनुसार एकलाल सहनीले सो होटलमा लगेर ‘नमस्कार गर, राम विनोद दाइ उहाँ नै हो, सञ्जय साहको दाहिने हात’ भनेर राम विनोद यादवलाई चिनाएको र राम विनोदले पहिला गोली चलाएको छ भनेर सोधेको उल्लेख छ।
फागु पूर्णिमाको दिन उनीसहित राम विनोद यादव, चन्द्रदिप यादव, विजय कुसियैत, पवन लामा र अंशी राइन होटलमा बसेका थिए। उनको बयान अनुसार राम विनोदको प्रश्न उनले गोली चलाएको छैन भनेपछि एकलाले सिकिहाल्छ भनेको र राम विनोदले आफूले बोकेको झोलाबाट ५-७ वटा बन्दुक निकालेर आफूसहित होटलको कोठामा रहेकाहरूलाई गोली लोड भएको हतियार दिएको उल्लेख छ।
यसमा हत्यामा मुख्य योजनाकार टकला देखिए। सुटर र हतियार खोज्नेसहित योजना बनाउनमा रास्वपाका सांसद राम विनोद संलग्न देखिए। त्यसमा विजय, चनरदिप, अंशी राईन, योगेन्द्र, मनक लामा देखिए।
एकलालको बयान अनुसार वीरेन्द्र बजार गएको बेलामा चन्द्रदिप यादवसँग भेट भएको र यादवले ठुलो मानिसको हत्या गर्नु छ सुटर चाहिएको छ भनेपछि एकलाल र मनक लामा भएर विजय कुसियैत र चन्द्रदिप यादवसँग एक लाख ५० हजार रुपैयाँ लएर हत्या गर्न सहमत भएको उल्लेख छ।
सुटर ग्रुपमा पवन लामा र मनक लामा, दोस्रो समूहमा एकलाल र अंशी राईन, तेस्रो समूहमा चन्द्रदिप र विजय कुसियैत रहेको देखियो। आदेश दिनेमा चन्द्रदिप र राम विनोद यादव रहेको खुल्यो। हत्या गर्न राम विनोदले मनक लामालाई पेस्तोल दिएका थिए। हत्या गरे वापत लामाले ९० हजार पाए।
हत्याको दिन चन्द्रदिपसहित सञ्जय कुमार साह टकलाको घरमा गए। त्यहीँ फागुको दिन रंग दल्दा अन्यले नचिन्ने र सिंघानीयको हत्या गर्न सहज हुने निष्कर्ष निस्कियो। टकलाले पहिला ५ लाख र काम भएपछि थप ५ लाख दिने बताएका थिए।
सबै व्यवस्थापनको जिम्मा राम विनोदले लिए। सुटरहरु होटलमा आएर बसेपछि सञ्जय टकला र राम विनोद यादव सडक विभागको गाडीमा होटलमा आएर हतियार दिएको फैसलामा संलग्न बयानहरूबाट खुल्छ।
घटनाको दिन होटलमा बसेर मदिरा पिएपछि हत्या गर्दा कसैले नचिनुन् भनेर उनीहरूले होलीको कपडा किनेको र अनुहारमा रंग दलेका थिए। त्यसपछि उनीहरू मोटरसाइकलमा सिंहानिया भएको ठाउँतिर गएका थिए।
सिंहानिया देखेपछि घेरा हालेर भाग्न नदिई चनरदिप यादव र राम विनोद यादवले गोली हान भनेको र पवन लामा र मनक लामाले अरुणको टाउकोमा गोली हानेर मोटरसाइकलबाट भागेका थिए। पछि उनीहरूलाई टकलासहितले सरकारी गाडीमा राखेर भगाएका थिए।
पहिले फरार, पछि निवेदन दिएर अदालतमा प्रवेश
राहुल सिंघानियाको जाहेरीका आधारमा मुद्दा दायर भयो। सञ्जय कुमार साह टकला त्यो बेलामा जनकपुर बम विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा गइसकेका थिए। सिंहानियाको हत्या पनि निर्देशनमा भएको देखियो। त्यसमा राम विनोद यादव समेत संलग्न रहेको प्रमाणहरूले खुलायो। तर उनी तत्कालीन समयमा फरार थिए। उनी फरार भएको ७ वर्ष पछि २०७३ साउन ३२ गते जिल्ला अदालत धनुषामा हाजिर भए। २०७६ असार १७ गते भएको फैसलामा राम विनोद यादवले हतियार उपलब्ध गराएको भन्दै दोषी ठहर भए।
अदालतमा राम विनोद यादवले इन्कारी बयान गरे पनि दोषी ठहर गर्दै मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७(३) नम्बर बमोजिमको कसुरमा संलग्न रहेको भन्दै अदालतले ३ वर्ष कैदको सजाय सुनायो। कैद सजाय सुनाउँदा उनी पुर्पक्षमै थिए।
२०७३ मै पुर्पक्षका लागि थुनामा रहेका यादव सप्तरीमा केही समय बसेपछि सरुवा भएर केन्द्रीय कारागार सुन्धारामा आएका थिए। २०७४ असोजमा उनी सप्तरीमै नै सरुवा भए । तीन वर्ष कैद सजाय भुक्तान गरेर उनी रिहा भए ।
जिल्ला अदालतले कैद सजाय तोकेपछि २०७६ साल मंसिर १३ गते राम विनोद यादव पुनरावेदन लिएर उच्च अदालत जनकपुरमा गएको देखियो। उच्च अदालतले जिल्लाकै सदर गरिदियो। उच्च अदालत जनकपुरबाट यो फाइल महान्याधिवक्ताको कार्यालयमा आयो। दुवै तहको अदालतबाट फैसला भएको भन्दै महान्यायाधिवक्ता कार्यालयले २०७९ पुस २७ गते सर्वोच्च अदालतमा पुनरावेदनमा नजाने निर्णय गर्यो। यादव पुनरावेदनमा गएनन्।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता अच्युतमणि नेउपाने यादवले इन्कारी बयान दिएको र दुई अदालतले एकै मुद्दा सदर गरेकाले फैसलाबारे पुनरावेदनमा नजाने निर्णय भएको बताउँछन्।
मधेसको राजनीतिमा मिसिएको अपराध
सञ्चार उद्यमीको हत्यामा दोषी ठहर भएर कैद सजाय नै पाएपछि राम विनोद मूलधारको राजनीतिमा थिएनन्। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन हुने भएसँगै काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाह जब रास्वपामा गए तब रास्वपामा प्रवेश गर्नेहरू बढे। यही माहौलमा उनी पनि रास्वपामा प्रवेश गरेर सहजै धनुषा-२ बाट उम्मेदवार बने अनि सहजै माननीय पनि।
उनी मात्रै हैन, गम्भीर अपराधमा संलग्नहरू राजनीतिमा उदाउन मधेस निकै उर्वर भूमि देखिन्छ। त्यसको प्रारम्भ मिर्जा दिलसाद बेगबाटै भएको थियो। विभिन्न दलहुँदै मन्त्रीसम्म बन्न सफल उनी आफ्नो आपराधिक कर्मकै कारण २०५१ मा काठमाडौँको सिफलमा गोली लागेर मारिए।
त्यसपछि मधेसमा मोहम्मद आफताव आलम खुंखार अपराधीको रूपमा उदाए। नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय रहेका उनी पनि मन्त्रीसम्म भए। तर निर्वाचन जित्न आफ्नो क्षेत्रमा बम पड्काए आतंक मच्चाउने तयारीकैक्रममा बम पड्कँदा घाइते भएका सहयोगीहरूलाई इटाभट्टामा ज्यादै जलाएको घटना सार्वजनिक भयो। उनी जेल परे। पछि उच्च अदालतबाट उनलाई सफाइ दिने निकै विवादित फैसला भयो। सरकारी पक्ष फैसलाको पुनरावलोकनमा जाने तयारीमै रहेको बेलामा उनको मृत्यु भयो।
अर्का देखिए सञ्जय शाह टकला। टकला विभिन्न मधेसवादी दलहरूबाट राजनीतिमा सक्रिय भइरहेका थिए। ध्रुवतारा कन्ट्रक्सनबाट ठेक्कापट्टामा पनि संलग्न थिए। त्यही ठेक्कापट्टाको विवादमा उनी र जीवनाथ चौधरीबीच दुस्मनी रोपिएको थियो।
उनी २०६४ को संविधान सभाको निर्वाचनमा मधेस आन्दोलनको रापमा मधेसी जनअधिकार फोरमबाट उम्मेदवार भएर जिते अनि भौतिक राज्यमन्त्री समेत बने। दल बदल्दै कहिले लोकतान्त्रिक फोरम त कहिले सद्भावनामा लागेका उनी २०७० को निर्वाचनमा समेत जितेका थिए।
उनी सांसद पदमै रहेको बेलामा जनकपुर बम विस्फोटको योजनाकारको रूपमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा गए। यो अपराधमा उनलाई पछि जन्मकैद भयो। २०७२ मा प्रहरीले सिंहानिया हत्या घटनामा संलग्न आरोपी पक्राउ गरेपछि उनको नाम पोलियो। यसमा पनि उनलाई जन्मकैदको फैसला भयो।
टकलापछि केन्द्रीय राजनीतिमा संगठित अपराधमा संलग्नहरूको प्रतिनिधित्व थिएन। २०८२ भदौ २३ र २४ मा सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेनजी आन्दोलनको बलमा फागुन २१ मा भएको निर्वाचनबाट अर्का उस्तै पात्र राम विनोद जेनजी आन्दोलनको स्वामित्व लिएको दल रास्वपाबाट संसदमा आइपुगे।
फागुन २८, २०८२ बिहीबार १९:५२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।