काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर, हावा अत्यन्तै अस्वस्थ

काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर, हावा अत्यन्तै अस्वस्थ

काठमाडौं :  काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरि एकपटक खतरनाक स्तरमा पुगेको छ।

वायु गुणस्तर मापनगर्ने स्वीट्जरल्याण्डको अन्तर्राष्ट्रिय संस्था आईक्यूएअरको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौं आज विश्वका प्रमुख शहरहरूमध्ये तेस्रो सबैभन्दा प्रदूषित शहर बनेको छ।

बिहीबार दिउँसो ११-१२ बजेको तथ्यांकअनुसार काठमाडौंको हावाको गुणस्तर सूचकांक १८४ मापन गरिएको छ, जुन स्वास्थ्यका लागि ‘अस्वस्थ’ मानिने रातो वर्गमा पर्दछ।

आईक्यूएअरको सूचीमा किर्गिस्तानको बिश्केक १८८ एक्यूआईसहित पहिलो स्थानमा छ भने भारतको कोलकाता १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ।

काठमाडौंले भारतको राजधानी नयाँ दिल्ली (एक्यूआई १६५), चीनको बेइजिङ (एक्यूआई १६४) र भियतनामको हनोई (एक्यूआई १६४) जस्ता शहरहरूलाई पनि प्रदूषणमा पछि पारेको छ।

आईक्यूएअरको मापदण्डअनुसार १५१ देखि २०० सम्मको एक्यूआईलाई ‘अस्वस्थ’ अर्थात् रातो वर्गमा राखिन्छ। यस्तो हावामा सास फेर्दा सबै उमेर समूहका मानिसहरूमा तत्काल स्वास्थ्य समस्या देखिन सक्छ।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दम, मुटु र श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगीहरूका लागि यो वायु अत्यन्तै हानिकारक हुन्छ।

वायु प्रदूषणको स्तर उच्च भएका बेला चिकित्सकहरूले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे एन-९५ वा केएन-९५ मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन्।

त्यस्तै, मर्निङ वाक तथा अन्य शारीरिक व्यायाम नगर्न, घरका झ्यालढोका बन्द राख्न र श्वासप्रश्वासमा समस्या देखिए वा आँखा पोल्ने, घाँटी खसखसाउने जस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

धुलो, सवारीसाधनबाट निस्कने धुवाँ र लामो समयदेखि वर्षा नहुँदा वायुमण्डलमा जम्मा भएका प्रदूषणका कणहरूका कारण काठमाडौंको वायु गुणस्तर खस्किएको हो।

फागुन २८, २०८२ बिहीबार १३:०३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।