मध्यपूर्वको तनावलाई देखाएर रुसमाथिको प्रतिबन्ध हटाउनु गलत : फ्रान्सेली राष्ट्रपति म्याक्रोँ ​​​​​​

मध्यपूर्वको तनावलाई देखाएर रुसमाथिको प्रतिबन्ध हटाउनु गलत : फ्रान्सेली राष्ट्रपति म्याक्रोँ  ​​​​​​

पेरिस : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले होर्मुज जलडमरूमध्यमा उत्पन्न परिस्थितिको कारण देखाउँदै रुसमाथि लगाइएको प्रतिबन्ध हटाउनु गलत हुने बताएका छन्।

जी-७ देशका नेताहरूसँगको भिडियो कन्फ्रेन्सपछि बोल्दै म्याक्रोँले यस्तो धारणा राखेका हुन्।

उनले भनेका छन्, ‘इरानको हालको परिस्थितिका कारण युक्रेनप्रतिको हाम्रो ध्यान, युक्रेनलाई दिइने हाम्रो समर्थन र रुसमाथि लगाइएको प्रतिबन्धप्रतिको हाम्रो स्पष्टता कुनै पनि हालतमा कम हुनु हुँदैन।’

युक्रेनमाथि रुसले आक्रमण गरेपछि अमेरिका लगायतका पश्चिमी देशहरूले रुसी तेलमा कडा प्रतिबन्ध लगाएका थिए। यसका कारण विश्वभरका धेरै देशहरूले तेल आपूर्तिका लागि अन्य विकल्पहरू खोज्नुपरेको थियो।

तर, हालै मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै अमेरिकाले यी प्रतिबन्धहरूमा अस्थायी रूपमा केही खुकुलो पारेको छ। यो निर्णयपछि भारत जस्ता देशहरूले समुद्रमा ट्रान्जिटमा (पहिल्यै पानीजहाजमा) रहेको रुसी तेल खरिद गर्न पाउनेछन्।

यस विषयमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएकी थिइन्। उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अर्थमन्त्री स्कट बेसेन्ट र राष्ट्रिय सुरक्षा टोलीले यो निर्णय लिएको हो।

भारतले यसअघि नै प्रतिबन्धित रुसी तेल किन्न बन्द गरेर जिम्मेवार व्यवहार देखाएका कारण अमेरिकाले यस्तो छुट दिएको लेभिटले स्पष्ट पारिन्।

यसैबीच, राष्ट्रपति म्याक्रोँले जी-७ को बैठकमा होर्मुज जलडमरूमध्यमा जतिसक्दो चाँडो पानीजहाजको आवागमन सुचारु गर्न सबै देशले एकआपसमा समन्वय गरेर काम गर्नु जरुरी रहेको कुरामा जोड दिएका छन्।

फागुन २८, २०८२ बिहीबार ०८:४४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।