नग्न भिडियो बनाएर ४ वर्षसम्म नाबालिगमाथि ‘ब्ल्याकमेल’ र बलात्कार, प्रहरीलाई नै टोकेर भाग्न खोज्ने शाहीविरुद्ध १० वर्षको कैद माग

नग्न भिडियो बनाएर ४ वर्षसम्म नाबालिगमाथि ‘ब्ल्याकमेल’ र बलात्कार, प्रहरीलाई नै टोकेर भाग्न खोज्ने शाहीविरुद्ध १० वर्षको कैद माग

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी एक किशोरीलाई नग्न भिडियोको डर देखाएर विगत ४ वर्षदेखि निरन्तर बलात्कार र ब्ल्याकमेल गर्दै आएको घटना सार्वजनिक भएको छ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं. ४ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १, कृष्णमन्दिरस्थित डेरा गरी बस्ने ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले पीडित किशोरीको जाहेरीका आधारमा प्रतिवादी शाहीविरुद्ध १० वर्षसम्मको कैद सजाय र भारी जरिबाना माग गर्दै मुद्दा दायर गरेको हो।

अभियोग पत्रमा उल्लेख भएअनुसार पीडित र पीडकबीच वि.सं. २०७६ सालतिर सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जरमार्फत चिनजान भएको थियो। सामान्य कुराकानीबाट सुरू भएको यो चिनजान बिस्तारै बाक्लो बन्दै गयो।

घटनाको सुरुवात २०७८ सालको भदौ महिनाबाट भएको देखिन्छ। त्यसबेला पीडित किशोरी जम्मा १४ वर्षकी थिइन् र कक्षा ८ मा अध्ययनरत थिइन्।

शाहीले ‘अति जरुरी काम छ’ भन्दै कैलालीको टीकापुरस्थित आफ्नो डेरामा ती नाबालिकालाई बोलाएका थिए। आफूलाई भेट्न आएकी ती अबोध बालिकालाई शाहीले कोठाभित्र थुनेर पहिलोपटक इच्छाविपरीत बलात्कार गरेका थिए।

नग्न भिडियो बनाएर निरन्तर ब्ल्याकमेल
पहिलोपटक बलात्कारपछि शाहीले किशोरीको नग्न तस्बिर र भिडियोसमेत खिचेका थिए। त्यसपछि सुरू भएको थियो- ब्ल्याकमेलिङ। ‘कसैलाई भनिस् भने यो भिडियो र फोटो सोसल मिडियामा भाइरल बनाइदिन्छु’ भन्दै शाहीले ती किशोरीलाई निरन्तर धम्क्याउन थाले।

आफ्नो बेइज्जत हुने र परिवारले थाहा पाउने डरले ती किशोरीले उक्त घटना कसैलाई भन्न सकिनन्। यही डरको फाइदा उठाउँदै शाहीले ती किशोरीलाई पटक-पटक आफ्नो कोठामा बोलाएर शारीरिक शोषण गर्दै आए।

समय बित्दै जाँदा पीडित किशोरी १० कक्षा पास गरेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आइन्। काठमाडौंको एउटा कलेजमा अध्ययनरत छिन् उनफ। तर, पीडक शाहीले उनलाई काठमाडौंसम्मै पछ्याउन छाडेनन्।

काठमाडौं आएपछि पनि शाहीले पुरानै नग्न भिडियो र फोटो देखाउँदै ‘तेरो फोटो सोसल मिडियामा हालिदिन्छु’ भन्दै धम्क्याउन थाले। डिल्लीबजार र पछि थापाथलीस्थित पीडितको डेरामा समेत गएर शाहीले डरत्रास देखाई बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ।

अन्तिम पटक मिति २०८२ माघ ८ गते बेलुकी ७ बजे थापाथलीस्थित डेरामा आएर शाहीले ढोका बन्द गरी किशोरीमाथि बलात्कार गरेका थिए।

यसरी पर्दाफास भयो घटना
वर्षौंसम्मको शारीरिक र मानसिक यातना सहन नसकेर किशोरीले जब शाहीसँग सम्पर्कविहीन हुन खोजिन् र भेट्न अस्वीकार गरिन्, तब क्रुद्ध भएका शाहीले किशोरीका आफन्तलाई भिडियो पठाउन थाले।

अभियोग पत्रमा उल्लेख भएअनुसार, प्रतिवादीले पीडितकी फुपू र दाइको टिकटक तथा म्यासेन्जरमा ती नग्न तस्बिर र भिडियोहरू पठाइदिएका थिए।

साथै, म्यासेन्जरमा अङ्ग्रेजी रोमनमा स्पष्टसँग ‘जस्ट सेक्स गर्न मन लागेको हो मलाई... भिडियो म्यासेज सब देखाइदिन्छु... दुर्गन्धित कुराहरू सबै लिएर पठाउँछु अब के हुँदोरहेछ हेर’ जस्ता धम्कीपूर्ण म्यासेजहरू पठाएका थिए।

परिवारका सदस्यहरूले यी कुराहरू देखेपछि मात्रै किशोरीले आफूमाथि ४ वर्षदेखि भइरहेको ब्ल्याकमेल र बलात्कारको सम्पूर्ण कहालीलाग्दो वृत्तान्त परिवारलाई सुनाएकी थिइन्। त्यसपछि परिवारकै सहयोगमा प्रहरीमा जाहेरी परेको थियो।

प्रहरीलाई नै टोकेर भाग्ने प्रयास
जाहेरी परेपछि प्रहरी वृत्त सिंहदरबारको टोली मिति २०८२ फागुन १ गते बेलुकी ५ बजेतिर शाहीलाई पक्राउ गर्न पीडितकै कोठामा पुगेको थियो। प्रहरीले आफ्नो परिचय दिई नियन्त्रणमा लिन खोज्दा प्रतिवादी शाहीले प्रहरीलाई नै अपशब्द प्रयोग गर्दै हातपात गरेका थिए।

उनले अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीको दायाँ हातको हत्केलामा दाँतले टोकेर लछारपछार गर्दै भाग्ने प्रयास गरेका थिए। भाग्ने क्रममा लडेर उनको बायाँ हातमा समेत चोट लागेको थियो। घाइते प्रहरीको टेकु अस्पतालमा उपचार गरिएको थियो।

कानुनी मागदावी: १० वर्षसम्म कैद माग
अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी टेकेन्द्र शाहीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) विपरीत बलात्कारको कसुर गरेको ठहर गर्दै अभियोग पत्र दायर गरेको छ।

घटना सुरू हुँदा (२०७८ सालमा) पीडित बालिका १४ वर्षकी मात्रै रहेको र कानुनअनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग मञ्जुरीमै शारीरिक सम्पर्क राखे पनि त्यसलाई ‘बलात्कार’ मानिने कानुनी व्यवस्था छ।

अदालतमा पेश गरिएको कागजातअनुसार वारदातको अन्तिम समयमा पीडितको उमेर १८ वर्ष ५ महिना २९ दिन पुगेको देखिए पनि अपराध निरन्तरतामा रहेको र सुरुमा नाबालिका रहेको अवस्थालाई मध्यनजर गर्दै अपराध संहिताको दफा २१९ (३) को (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको कैद सजाय माग गरिएको छ।

यसका साथै, दफा २१९ को उपदफा (३क) बमोजिम थप जरिबाना र दफा २२८ बमोजिम प्रतिवादीबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराउनसमेत अदालतसमक्ष मागदावी लिइएको छ। प्रहरीले प्रमाणका रूपमा पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट, धम्की दिइएका म्यासेजका स्क्रिनसटहरू र भिडियो क्लिपहरू समावेश गरिएको पेनड्राइभसमेत अदालतमा पेस गरेको छ।

फागुन २६, २०८२ मंगलबार १०:०१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।