तस्बिरमा हेर्नुहोस् नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

तस्बिरमा हेर्नुहोस् नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

काठमाडौं : नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उनीहरुलाई शपथ गराएका हुन्। सिंहदरबारमा आयोजित कार्यक्रममा माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट चुनिएका १८ सदस्यले शपथ लिएका छन्।

जम्मा ५९ सदस्यीय राष्ट्रिय सभाको एक तिहाइ सदस्यको लागि दुई-दुई वर्षमा निर्वाचन हुन्छ। १९ जना सांसदको कार्यकाल यही २० फागुन गतेदेखि सकिएको थियो। रिक्त एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने प्रावधान छ।

निर्वाचनमा कोशी प्रदेशमा सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए भने सोम पोर्तेल र रोशनी मेचे निर्वाचनबाट चुनिएका थिए। मधेश प्रदेशमा रेखा झा, रंजित कर्ण, धर्मेन्द्र पासवान र महन्थ ठाकुर विजयी भएका थिए। बागमती प्रदेशमा गीता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भएका थिए।

त्यस्तै गण्डकीमा जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, वासुदेव घिमिरे र चन्द्रबहादुर केसी, कर्णालीमा ललितजंग शाही र मिनासिंह रखाल, सुदूरपश्चिममा लीला भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका थिए।

कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा शपथ पश्चात् ब्याच वितरण कार्यक्रम चलिरहँदा ढिला गरी पुगेकी रामकुमारी झाँक्रीले भने पछि एक्लै शपथ लिएकी थिइन्।

फागुन २५, २०८२ सोमबार २२:०६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।