निर्वाचन सकिएसँगै आयोगद्वारा सोमबार रातिदेखि आचारसंहिता निष्क्रिय
काठमाडौं : निर्वाचन आयोगले करिब डेढ महिनादेखि कार्यान्वयनमा रहेको ‘निर्वाचन आचारसंहिता, २०८२’ सोमबार रातिदेखि हटाउने निर्णय गरेको छ।
राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी लागू गरिएको उक्त आचारसंहिता सोमबार मध्यरातदेखि निष्क्रिय हुने भएको हो। आयोगले सोमबार यस्तो निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न आयोगले गत माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको थियो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम उक्त आचारसंहिता कार्यान्वयनमा ल्याइएको थियो। उक्त आचारसंहिता सोमबार रातिदेखि निष्क्रिय हुने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
फागुन २५, २०८२ सोमबार १९:११:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।