आठ वर्षपछि निर्देशनमा रेखाको कमब्याक, शिवपुरीबाट सुरु गरिन् फिल्मको छायांकन

आठ वर्षपछि निर्देशनमा रेखाको कमब्याक, शिवपुरीबाट सुरु गरिन् फिल्मको छायांकन

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सकिनै लाग्दा फिल्मकर्मीहरू काममा फर्किएका छन्। फागुन १० गतेबाट सुटिङ थाल्ने भनिएको फिल्म ‘माया भनेकै यस्तो होला’को अन्ततः निर्वाचन सम्पन्न भएपछि सुरु भएको छ।

अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण थालिएको फिल्मको सोमबारबाट सुरु गरिएको निर्माण पक्षले जानकारी दिएको छ। काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट सुटिङ आरम्भ गरिएको फिल्ममार्फत रेखाले निर्देशनमा आठ वर्षपछि कमब्याक गर्दैछन्। यसअघि उनले फिल्म ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी थिइन्।

रेखाको निर्देशनमा  निर्माण थालिएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठका अलवा तीन जना पूर्वमिस नेपालहरूले अभिनय गर्दैछन्। सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह, लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेलले अभिनय गर्दैछन्।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण थालिएको फिल्ममा लगानी हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठले गर्दैछन्। सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने निर्माण पक्षको भनाई छ।

सुदीप बरालले छायांकन, अनिरुद्ध आत्रेय यस फिल्मको प्रमुख सहायक निर्देशकको जिम्मेदारी समालेका छन्। उनी कान्तिपुर थिएटरमा निर्देशक पढिरहेका विद्यार्थी हुन्। रंगपत्रकार राजन घिमिरे सहायक निर्माता रहेको यो फिल्ममा पछिल्लो समय चर्चामा रहेका संगीतकार प्रशान्त सिवाकोटीको संगीत रहने छ। 

निर्देशक रेखाले यो फिल्मलाई आगामी वर्षको तीजको अवसर पारेर प्रदर्शनमा ल्याउने लक्ष्य राखेको बताइन्। यस फिल्मको उनको अभिनय नहुने समेत रेखाले स्पष्ट पारेकी छन्।

उनी अभिनीत तथा निर्माता रहेको फिल्म ‘३६ को आँकडा’भने एक महिनापछि अर्थात् चैत २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।

फागुन २५, २०८२ सोमबार १६:०३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।