पराजय ब्यहोरेपछि पौडेलको प्रस्ताव, 'गल्ती सच्याऔं, पार्टी पुनर्गठन गरौं'

पराजय ब्यहोरेपछि पौडेलको प्रस्ताव, 'गल्ती सच्याऔं, पार्टी पुनर्गठन गरौं'

काठमाडौं : एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनःगठन गर्न अपिल गरेका छन्।

रुपन्देही- २ मा एमालेका तर्फबाट उम्मेदवार भएर पराजितसमेत भएका पौडेलले सोमबार विज्ञप्तिमार्फत विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न आग्रह गरे।

उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही- २ का मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु भनेका छन्।

उनले यस निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्ने तथा रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाउने आशासमेत गरे।

“यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आआफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिह्नमा मतदान गर्नुहुने मतदाता महानुभावहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु,” उनले भनेका छन्।

फागुन २५, २०८२ सोमबार १४:३९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।