केपी ओलीलाई हराएका बालेनको चुनाव खर्च १४ लाख, मालपानीको गाडीका लागि कति तिरे?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन्।
देशभरकै सर्वाधिक चासोको केन्द्र बनेको झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका उम्मेदवारलाई पराजित गर्दै ऐतिहासिक जित निकालेका शाहले निर्वाचनमा करिब १४ लाख रुपैयाँ खर्च भएको विवरण पेस गरेका हुन्।
सोमबार जिल्ला निर्वाचन कार्यालय झापामा उनका निर्वाचन प्रतिनिधि नविन भण्डारीमार्फत पेस गरिएको विवरणअनुसार, शाहको चुनावी अभियानमा कुल १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको छ।
प्रचलित निर्वाचन कानुन र आयोगको आचारसंहिता बमोजिम भूमि नन्द बराल, तिर्थ प्रसाद लामिछाने र बिरोध सुवेदीको रोहवरमा उक्त खर्च विवरण सार्वजनिक गरिएको हो।
कुन शीर्षकमा कति भयो खर्च?
सार्वजनिक गरिएको विवरणअनुसार बालेन्द्र शाहको सबैभन्दा धेरै खर्च वडास्तरीय प्रचारप्रसार (घरदैलो) कार्यक्रममा भएको छ।
झापा-५ का २९ वटा वडामा सञ्चालन गरिएको १५ दिने घरदैलो कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ। त्यसैगरी, यातायात र प्रचार सामग्रीमा पनि ठूलो रकम खर्च भएको देखिन्छ।
यस्तै २ वटा सवारीको १५ दिनको इन्धनसहितको भाडा भाडा २ लाख ९३ हजार ८ सय रूपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।
व्यवसायी कमलकिशोर मालपानीको नाममा रहेको बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर चढेपछि चुनावअघि नै व्यवसायीको साझेदार भएको भन्दै विरोध भएको थियो।
अन्य खर्चको विवरण यसप्रकार छ:
हवाई भाडा: ५ पटकको उडान- रु. ३५,०००
प्रचार सामग्री छपाइ: झण्डा तथा ब्याच- रु. १,५७,०४१ र ब्यानर/स्टिकर- रु. १,१९,८०८
नमुना मतपत्र छपाइ: रु. ४९,८५०
क्षेत्रीय कार्यालय सञ्चालन: २ महिनाको पानी खर्च रु. १,२०,००० र स्टेसनरी रु. २२,८२०
मतदाता प्रशिक्षण खाजा खर्च: ५८ जनाका लागि- रु. २८,९७०
मनोनयन दर्ता खर्च: रु. १०,०००
रास्वपाले चुनावअघि नै बालेन्द्र शाहलाई आफ्नो दलको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावी मैदानमा उतारेको थियो।
पूर्वप्रधानमन्त्री ओलीको गढ मानिएको झापा-५ मा गएर उनले सानदार जित निकाल्नुलाई नेपाली राजनीतिमा ठूलो तरंगका रूपमा हेरिएको छ।

फागुन २५, २०८२ सोमबार १३:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।