नुवाकोट-१ मा पराजयपछि प्रकाशशरणले बताए हारका तीन कारण
काठमाडौं : नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले निर्वाचनको ‘अस्वाभाविक’ नतिजा आउनुमा स्थापित राजनीतिक दलहरूप्रतिको असन्तुष्टि मुख्य कारण रहेको बताएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै डा. महतले आफूलाई मतदान गर्नेलाई धन्यवाद र विजयी उम्मेदवारलाई बधाई दिएका छन्।
डा. महतले यसपटकको आम निर्वाचनमा देखिएको परिणामलाई ‘अस्वाभाविक’ भन्दै यसका पछाडि मुख्य तीन कारण औंल्याएका छन्।
उनले स्थापित राजनीतिक दलहरूप्रति मतदातामा रहेको असन्तुष्टि, सामाजिक सञ्जालको बढ्दो प्रभाव र गत भदौ २३ गतेको घटनालाई नतिजा हेरफेरको मुख्य कारण मानेका छन्।
यस प्रकारको प्रभावबाट नेपाली कांग्रेस पनि अछुतो नरहेको र त्यसकै प्रत्यक्ष असर नुवाकोट-१ को नतिजामा पनि देखिएको उनले स्वीकार गरेका छन्।
यद्यपि, यस्तो प्रतिकूल परिस्थितिका बाबजुद पनि आफू र आफ्नो पार्टीलाई विश्वास गरेर प्रतिस्पर्धी मत दिने सम्पूर्ण मतदाताप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्।
आफ्नो निर्वाचन प्रचार-प्रसार अभियानमा अहोरात्र खटिएका पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई विशेष धन्यवाद दिँदै डा. महतले हारका बाबजुद आगामी दिनमा पनि नुवाकोट क्षेत्रको विकास र जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्।
यसैबीच, राजनीतिक संस्कार देखाउँदै डा. महतले नुवाकोट-१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. विक्रम तिमिल्सिनालाई बधाई दिएका छन्।
फागुन २५, २०८२ सोमबार १०:२३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।