धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन
काठमाडौं : निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ।
आयोगको निर्णयअनुसार निर्वाचन परिणाम घोषणा नगर्न आजै धनुषा जिल्ला क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले बताए।
आयोगले फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गएका छन्।
सो मुद्दा अदालतमा विचाराधीन रहेकाेले अदालतबाट आदेश नभएसम्म धनुषा क्षेत्र नं. १ को मत परिणाम घोषणा नगर्न आयोगले पत्र पठाएको हो।
धनुषा १ मा भइरहेको मतगणनाको क्रममा रास्वपा उम्मेदवार किशोरी साहकै पक्षमा मत आइरहेको छ।
फागुन २४, २०८२ आइतबार १६:०६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।