२४ लाख ८९ हजार समानुपातिक मत गन्दा कसको कति?
काठमाडौं : निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा निर्वाचन २०८२ को समानुपातिकतर्फको पछिल्लो मतपरिणाम अनुसार झण्डै २५ लाख मत गणना भइसकेको छ।
देशभरका मतगणना स्थलबाट प्रणालीमा प्रविष्ट भएको तथ्याङ्क अनुसार समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता कायम गरेको छ।
आयोगको अद्यावधिक विवरण अनुसार जम्मा २४ लाख ८९ हजार १९० मत गणना हुँदा कसले कति मत पाए? विस्तृत विवरण तल प्रस्तुत गरिएको छ:
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) : १२ लाख ५६ हजार ७ सय १० मतसहित रास्वपा पहिलो स्थानमा छ। उसले अन्य दलभन्दा निकै ठूलो मतान्तर बनाएको छ।
नेपाली कांग्रेस (रुख): ४ लाख २५ हजार २ सय ४५ मतसहित कांग्रेस दोस्रो स्थानमा छ।
एमाले (सूर्य): ३ लाख ३७ हजार ८ सय ७७ मतसहित एमाले तेस्रो स्थानमा छ।
नेपाली कम्युनिष्ट पार्टी (तारा): १ लाख ६५ हजार ७ सय ८६ मतसहित यो दल चौथो स्थानमा छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो): ९० हजार ९ सय ८३ मत।
श्रम संस्कृति पार्टी (माटो): ५० हजार ९ सय ६१ मत।
राष्ट्रिय परिवर्तन पार्टी (लौरो): ३२ हजार २ सय १७ मत।
जनता समाजवादी पार्टी, नेपाल (छाता): २१ हजार ५ सय ९९ मत।
एकल चिन्ह चक्किया/जाँतो (राष्ट्रिय मुक्ति पार्टी/जसपा/नागरिक उन्मुक्ति): १९ हजार ८ सय ५९ मत।
प्राप्त तथ्याङ्कले प्रत्यक्षतर्फ जस्तै समानुपातिक निर्वाचन प्रणालीमा पनि मतदाताले नयाँ दल रास्वपालाई नै अत्यधिक रुचाएको देखाएको छ। पहिलो स्थानमा रहेको रास्वपाले दोस्रो स्थानमा रहेको कांग्रेसको भन्दा झण्डै तेब्बर बढी मत प्राप्त गरेको छ। मतगणना कार्य अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
फागुन २४, २०८२ आइतबार ०८:४२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।