प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक अग्रता, कांग्रेस र एमाले नराम्ररी खुम्चिए
काठमाडौं : निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणनाको पछिल्लो तथ्याङ्कले नेपाली राजनीतिमा ठूलो उथलपुथल ल्याएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित दर्ता गर्दै प्रत्यक्षतर्फ नै प्रष्ट बहुमत ल्याउने निश्चित भएको छ। १६५ निर्वाचन क्षेत्रमध्ये १६४ क्षेत्रको नतिजा र अग्रता सार्वजनिक हुँदा पुराना ठूला दलहरू नेपाली कांग्रेस र एमाले नराम्ररी खुम्चिएका छन्।
देश संघीयतामा गएपछि भएको निर्वाचनमा प्रत्यक्षतर्फ एउटै दलले यति धेरै सिट कसैले पनि ल्याएका थिएनन्।
आयोगको अद्यावधिक तथ्याङ्क अनुसार हालसम्म कुल १२५ स्थानको अन्तिम नतिजा (विजयी) घोषणा भइसकेको छ। जसमा घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले ९८ स्थानमा शानदार जित हासिल गरिसकेको छ।
यसका अतिरिक्त रास्वपाले थप २७ स्थानमा आफ्नो अग्रता कायमै राखेको छ। यो नतिजाले रास्वपालाई संसदमा बलियो एकल बहुमतको सरकार बनाउने बाटो खुला गरेको छ।
अर्कोतर्फ, देशका प्रमुख परम्परागत शक्तिहरूले अनपेक्षित हार व्यहोरेका छन्। रुख चुनाव चिह्न भएको नेपाली कांग्रेसले जम्मा १४ स्थानमा मात्र जित निकाल्न सकेको छ भने थप ३ स्थानमा मात्र अगाडि छ। त्यसैगरी, सूर्य चिह्न भएको एमालेले जम्मा ७ स्थानमा चित्त बुझाएको छ भने ३ स्थानमा अग्रता लिइरहेको छ।
अन्य दलहरूको अवस्था हेर्दा तारा चिह्न भएको नेपाली कम्युनिष्ट पार्टीले ४ स्थान जितेर ३ स्थानमा अग्रता बनाएको छ। हलो चिह्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जम्मा १ स्थानमा मात्र जित निकालेको छ।
त्यस्तै, नयाँ दलको रूपमा उदाएको श्रम संस्कृति पार्टीले हालसम्म जितको खाता खोल्न नसके पनि ३ स्थानमा अग्रता लिएको छ। एक जना स्वतन्त्र उम्मेदवारले पनि चुनाव जितेका छन्। सार्वजनिक भएको यो विवरण १६५ निर्वाचन क्षेत्रमध्ये १६४ क्षेत्रको हो।
फागुन २४, २०८२ आइतबार ०८:३३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।