लुम्बिनीका सबै एमाले पदाधिकारी रास्वपाका उम्मेदवारसँग पराजित
बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रतिस्पर्धा गरेका एमालेका पदाधिकारीहरू पराजित भएका छन्।
एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्षद्वय विष्णु पौडेल र गोकर्ण विष्ट तथा नेता प्रदीप ज्ञवाली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूसँग पराजित भएका हुन्।
एमाले महासचिव शंकर पोखरेल रास्वपाका उम्मेदवार विपिन आचार्यसँग पराजित भए। निर्वाचन परिणामअनुसार आचार्यले ४३ हजार ५५९ मत प्राप्त गर्दा पोखरेलले १५ हजार २८७ मत प्राप्त गरे। उनीहरुबीच २८ हजार २७२ मतान्तर रह्यो।
त्यस्तै, रुपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल पराजित भए। रास्वपाका उम्मेदवार सुलभ खरेल ५६ हजार ५५० मतसहित विजयी हुँदा पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गरे।
गुल्मी- २ मा भएको प्रतिस्पर्धात्मक चुनावमा एमालेका अर्का उपाध्यक्ष गोकर्ण विष्ट पराजित भए। रास्वपाका उम्मेदवार गोविन्द पन्थी १६ हजार ९६७ मत ल्याएर विजयी भए भने विष्टले १६ हजार ४०६ मत प्राप्त गरे। यहाँ पन्थीले ५६१ मतको अन्तरले जित हासिल गरे।
यसैगरी, गुल्मी क्षेत्र नम्बर १ मा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवाली रास्वपाका सागर ढकालसँग पराजित भए। ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गरे।
फागुन २३, २०८२ शनिबार २२:०८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।