ओलीको गढमा बालेन विजयी

ओलीको गढमा बालेन विजयी

काठमाडौं : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह 'बालेन' फराकिलो मतान्तरसहित विजयी भएका छन्।

शनिबार साँझ सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार बालेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी बालेनले ६८ हजार ३४८ मत प्राप्त गरेका छन्। ओली १८ हजार ७३४ मतमा खुम्चिन पुगेका छन्। संसदीय निर्वाचनको इतिहासमा ओलीले पराजय व्यहोर्नु परेको यो दोस्रो पटक हो। यसअघि उनी २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन झापा क्षेत्र नम्बर ७ बाट पराजित भएका थिए।

यहाँ कूल १ लाख छ हजार ३७२ मत खसेको थियो। परिणाम अनुसार श्रम संस्कृति पार्टीका समिर तामाङ ९ हजार २३३ मतसहित तेस्रो स्थानमा रहेका छन्। यस्तै, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८२१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले १ हजार ५३६ र नेपाल कम्युनिष्ट पार्टीका रञ्जित तामाङले १ हजार ४६१ मत प्राप्त गरेका छन्।

विजयी बालेन र दोस्रो स्थानमा रहेका ओली बाहेक अन्य सबै उम्मेदवारहरूको जमानत जफत भएको छ। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको निर्वाचन क्षेत्रमै बालेनको यो जितलाई चासोका साथ हेरिएको छ। उनीहरू दुवै भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा निर्वाचनमा होमिएका थिए। निर्वाचन परिणाम सार्वजनिक भएसँगै झापामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। 

फागुन २३, २०८२ शनिबार १८:३३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।