लुम्बिनीका २६ निर्वाचन क्षेत्र : कहाँ कसले जिते ?

लुम्बिनीका २६ निर्वाचन क्षेत्र : कहाँ कसले जिते ?

बुटवल : लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये केही स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ भने अधिकांशमा मतगणना जारी छ। प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लुम्बिनी प्रदेशमा प्रभाव जमाएको छ।

रुपन्देहीका ३ वटा निर्वाचनमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर २ मा सुलभ खरेल, क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापा र क्षेत्र नम्बर ४ मा कन्हैया बानिया निर्वाचन भएका छन्। दुई वटा निर्वाचन क्षेत्रमा रास्वपाले नै अग्रता बनाएको छ।

रुपन्देही क्षेत्र नम्बर ५ मा रास्वपाका तौफिक अहमद खानले अग्रता बनाएका छन्। उनले ३४ हजार ९५३ मतका साथ अग्रता फराकिलो बनाएका छन्। क्षेत्र नम्बर १ मा रास्वपाकै सुनिल लम्सालले अग्रता बनाएका छन्।

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर १ मा सागर ढकाल विजयी भए। क्षेत्र नम्बर २ मा गोविन्द पन्थी विजयी भए।

दाङका तीन वटै निर्वाचन क्षेत्रमा रास्वपाले बाजी मार्ने देखिएको छ। क्षेत्र नम्बर १ मा देवराज पाठकले फराकिलो अग्रता बनाएका छन्। क्षेत्र नम्बर २ मा विपिन आचार्य विजयी भइसकेका छन्। क्षेत्र नम्बर ३ मा रास्वपाकै कमल सुवेदी जीततर्फ उन्मुख भएका छन्।

अर्घाखाँचीमा रास्वपाकै हरि भुसाल विजयी भएका छन्। पाल्पाको क्षेत्र नम्बर १ मा एमालेका नारायण आचार्यले अग्रता बनाउँदा क्षेत्र नम्बर २ मा रास्वपाका माधव बहादुर थापाले फराकिलो अग्रता बनाएका छन्।

तीन वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले अग्रता बनाएका छन्। उनी विश्वदिप शर्माका छोरा हुन। उनलाई रास्वपाका मोहनलाल आचार्यले पछ्याइरहेका छन्। शर्माले ११ हजार ९७२ मत प्राप्त गर्दा आचार्यले १० हजार ६७६ मतका साथ पछ्याइरहेका छन्।

क्षेत्र नम्बर २ मा रास्वपाका विक्रम थापाले फराकिलो अग्रता बनाएका छन्। उनले २३ हजार १०९ मत प्राप्त गरेका छन्। त्यस्तै क्षेत्र नम्बर ३ मा काँग्रेसका अभिषेक प्रताप साहले अग्रता बनाएका छन्। उनले २२ हजार २२६ मत प्राप्त गरेका छन्।

३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा क्षेत्र नम्बर १ मा रास्वपाका सुरेश कुमार चौधरी विजयी भएका छन्। क्षेत्र नम्बर २ मा एमालेका मोहम्मद ईश्तियाक राई विजयी भएका छन्। क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनार विजयी भएका छन्।

बर्दिया क्षेत्र नम्बर १ मा रास्वपाका ठाकुर सिंह थारुले अग्रता बनाएका छन्। क्षेत्र नम्बर २ मा पनि रास्वपाकै श्रीधर पोखरेलले अग्रता बनाएका छन्।

पूर्वी रुकुमबाट नेकपाका पुष्पकमल दाहाल प्रचण्डले जीत हासिल गरेका छन्। रोल्पामा नेकपाकै वर्षमान पुनले फराकिलो अग्रता बनाएका छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा रास्वपाका सुशान्त वैदिकले अग्रता कायमै राखेका छन्।

नवलपरासी पश्चिममा २ वटा निर्वाचन क्षेत्र रहेका छन्। क्षेत्र नम्बर १ मा रास्वपाका विक्रम खनालले अग्रता बनाएका छन्। त्यस्तै क्षेत्र नम्बर २ मा पनि रास्वपाकै नरेन्द्र कुमार गुप्ताले फराकिलो अग्रता बनाएका छन्।

फागुन २३, २०८२ शनिबार १६:४६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।