रुपन्देहीमा कांग्रेस पराजित भएपछि उपसभापति घिमिरेद्वारा राजीनामा
बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरू पराजित भएपछि कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले पदबाट राजीनामा दिएका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै घिमिरेले हारको नैतिक जिम्मेवारी लिँदै पद त्यागेको घोषणा गरेका हुन्।
घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले दिएको जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी दिनमा पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहँदै पार्टीको सक्रिय सदस्यका रूपमा संगठनलाई सुदृढ बनाउन निरन्तर लागिपर्ने विश्वास दिलाउन चाहन्छु। मेरो राजीनामा स्वीकृत गर्न अनुरोध गर्दछु।’
सियारी गाउँपालिकाका अध्यक्षसमेत रहेका घिमिरेले निर्वाचन परिणाम पार्टीको अनुकूल नभएपछि यो निर्णय लिएका हुन्। रुपन्देहीमा रास्वपा, राप्रपा र एमालेलगायतका दलहरूले नतिजा आफ्नो पक्षमा पारेपछि कांग्रेसका लागि यो निर्वाचन निकै चुनौतीपूर्ण बनेको थियो।
फागुन २३, २०८२ शनिबार १३:३४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।