राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रद्वारा पार्टी परित्याग, दलीय राजनीतिबाट अलग हुने घोषणा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिँदै दलीय राजनीतिबाट तत्कालका लागि अलग हुने घोषणा गरेका छन्।
मिश्रले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।
मिश्रले देशभर राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि राप्रपाले त्यसलाई सङ्गठित र पूँजीकृत गर्न नसकेको निष्कर्ष निकाल्दै पार्टी परित्यागको निर्णय लिएको बताएका छन्।
पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले राप्रपाको असफलतामा आफू पनि जिम्मेवार रहेको उनले स्वीकार गरेका छन्।
‘राजसंस्थाको एजेन्डा छोड्दिनँ’
दलीय राजनीतिबाट बिदा लिए पनि आफ्नो राजनीतिक एजेन्डाबाट भने पछि नहट्ने मिश्रले स्पष्ट पारेका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत् रहनेछन् र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु।’
उनले विचारभन्दा माथि देश र देशका लागि नरेश अपरिहार्य रहेको भन्दै बदलिँदो भूराजनीति र आन्तरिक परिस्थितिका माझ देश बचाउन नवीन समझदारी आवश्यक रहेको औंल्याएका छन्।
रास्वपालाई बधाई र सांकेतिक चेतावनी
मिश्रले भर्खरै सम्पन्न निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई तथा शुभकामना दिएका छन्। बधाई दिँदै उनले नेपाली राजनीतिप्रति सांकेतिक चिन्ता पनि व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘प्रचण्डपथमा पट्टी लगाएको घोडासरह एकोहोरो दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस्, त्यति कामना गर्दछु।’
विगत ९ वर्षको आफ्नो राजनीतिक यात्रा उतारचढावपूर्ण रहेको स्मरण गर्दै उनले आफूले इमानदारीपूर्वक राष्ट्रिय रूपान्तरणको प्रयास गरेको तर त्यो पर्याप्त नभएको उल्लेख गरेका छन्।
उनले ‘पृथ्वीपथ’ को जय होस् भन्दै आफ्नो विज्ञप्ति टुंग्याएका छन्।
फागुन २३, २०८२ शनिबार १२:०३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।