भक्तपुर-२ मा हार स्वीकार्दै महेश बस्नेतले भने,- ‘जनताको निर्णय सर्वोपरि, अब सदन बाहिरबाटै आवाज उठाउनेछु’

भक्तपुर-२ मा हार स्वीकार्दै महेश बस्नेतले भने,- ‘जनताको निर्णय सर्वोपरि, अब सदन बाहिरबाटै आवाज उठाउनेछु’

भक्तपुर : भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि एमाले सचिव महेश बस्नेतले लोकतान्त्रिक अभ्यासमा जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत विजयी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजिब खत्रीलाई बधाई दिँदै यस्तो प्रतिक्रिया दिएका हुन्।

निर्वाचनको नतिजा आफ्नो पक्षमा नआएपछि बस्नेतले लोकतन्त्रमा जनताको अभिमत नै अन्तिम हुने बताएका छन्।

उनले लेखेका छन्, ‘यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु।’

बस्नेतले नवनिर्वाचित सांसद खत्रीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्।

साथै, ‘सूर्य’ चिह्नमा मतदान गरी आफू र पार्टीप्रति विश्वास गर्ने मतदाता तथा अहोरात्र खटिने पार्टी कार्यकर्ताप्रति उनले कृतज्ञता प्रकट गरेका छन्।

‘रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछु’
पराजित भए पनि जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता नडगमगाउने बस्नेतले स्पष्ट पारेका छन्। राजनीतिमा हार-जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले अब आफ्नो भूमिका सदन बाहिर केन्द्रित हुने बताए।

बस्नेतले भनेका छन्, ‘अब हाम्रो भूमिका रचनात्मक प्रतिपक्षको हुनेछ। जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहनेछौं।’

उनले जनताको विश्वास र माया नै आफ्नो शक्ति भएको भन्दै बाँकी जीवन पनि समृद्ध भक्तपुर निर्माण र जनताको सेवामै समर्पित रहने प्रतिबद्धता जनाएका छन्।

भक्तपुर-२ मा नेता बस्नेतलाई २६ हजार मतान्तरले पराजित गर्दै रास्वपाका राजिब खत्री विजयी भएका हुन्।

फागुन २३, २०८२ शनिबार ०९:०२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।